काठमाडौं । पार्टीभित्र निकै अप्ठेरो अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई असजिलो नहुनेगरी गृहमन्त्री रामबहादुर थापा वादललाई राजनीतिक प्रतिवेदन लेख्न आग्रह गरेका छन् । शनिवार विहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका प्रधानमन्त्री ओलीले शनिवारनै गृहमन्त्री थापालाई भेटेर सबैलाई मान्यहुनेगरी सामूहिक प्रतिवेदन लेखेर स्थायी कमिटी बैठकमा पेश गर्न आग्रह गरेका हुन् ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका ओलीले गृहमन्त्री वादललाई आउँदो स्थायी कमिटी बैठकसम्ममा ’कित्ता क्लियर’ गर्ने गरी प्रतिवेदन लेख्न आग्रह गरेको स्रोतको दावी छ । वादल ओलीकै पक्षमा रहेपनि प्रतिवेदन लेख्न विषयमा कहिल्यै केही नभनेका ओलीबाट त्यस्तो अफर आउदा वादल मख्ख परेका छन् । वादलले यसअघि नै पार्टी एकताको पक्षमा रहेको भन्दै चार बुँदे प्रस्ताव समेत अघि सारेका थिए । मन्त्री निवास पुल्चोकमा वादलसँग छलफल गरेका ओलीले नेकपाभित्र तपाई आफै एउटा धारको नेतृत्व गर्ने भएकाले प्रतिवेदन ल्याएर छलफल गर्दा उपयुक्त हुन्छ भनेका थिए ।
बादलनिकट स्रोतका अनुसार ओलीले बादललाई तीन वर्षदेखि सरकार सञ्चालनमा साथमा रहेको बताउँदै सरकारको प्रगति र दुर्गतिसहितको प्रतिवेदन स्थायी समितिमा ल्याउन आग्रह गरेको छन् । ओलीले बादललाई भनेका थिए, ‘पार्टी सञ्चालनमा अध्यक्षद्वयकै समीक्षासमेत गरेर प्रतिवेदन बनाउनु होला ।’ सरकारको प्रगति र दुर्गतिको समीक्षा गर्न आग्रह गरेका ओलीले राजनीतिक बिग्रियो भने यसले कसैको पनि भलाई नगर्ने भएकाले प्रचण्डले आफ्नो आग्रहलाई अस्वीकार गरी पार्टी विभाजनको रेखा कोरिसकेकाले अब त्यसदिशामा वादलको समूह नलागोस भन्ने आफ्नो चाहाना रहेको पनि ओलीको भनाई थियो ।
पछिल्लो समय नेकपा नेताहरु निकै विवादमा फसेको बेला गृहमन्त्री बादलबारे विभिन्न अड्कलबाजी भएपनि अहिले वादल ओलीसँगै रहेका छन् । उनी हमेशा बोल्दैनन् । उनी कुनै निश्चित बैठकमा सहभागी भएको र नभएको आधारमा कतिपयले उनको कित्ता निर्धारण गर्ने गरेपनि ओलीले यस्तो प्रस्ताव राख्दा वादलको महत्व बढिरहेको छ । उनले यसअघि कात्तिक ४ गते पार्टीलाई संस्थागतरुपमा बढाउनुपर्छ, विधि र पद्दतिमा चल्नुपर्छ तर, विभाजन हुने ठाउँसम्म पुग्नु हुन्न भनेका थिए ।