काठमाडौं । नवलपरासीबाट सांंसद रहेका हृदयेश त्रिपाठी ओली सरकारका मन्त्री समेत छन् । अहिले काठमाडौंमा आफ्ना समस्या लिएर आएका उखु किसानको समस्या समाधान भन्दा पनि उनीहरुको आन्दोलन तुहाउन मन्त्री त्रिपाठी सक्रिय भएर लागेको किसानहरुले भन्न थालेका छन् । सरकारप्रति नुनको सोझो गर्दे उखु किसान आन्दोलन तुहाउन त्रिपाठीले चासो देखाएको किसानहरुको आरोप छ । उखु किसान आन्दोलन उनको विभागीय जिम्मेवारी होइन । यसमा उद्योगमन्त्रीले चासो देखाउनु पर्ने हो तर यसमा त्रिपाठीको चासो भने खासै स्वाभाविक देखिन्न ।
पुस महिनाको चिसो मौसममा माइतीघर मण्डलामा विगत एक हप्तादेखि आन्दोलनमा उत्रेका आन्दोलनकारीहरु मध्ये केही अगुवा आन्दोलनकारीलाई त्रिपाठीले बुझेका छन् । स्रोत भन्छ, उखु किसान संघर्ष समितिका २१ सदस्यीय आन्दोलनकारीमध्ये केहीसँग उनले व्यक्तिगत रुपमा भेटेका छन र ‘तपाईको समस्या के छ’ भनी सोधपुछ गर्ने गरेका छन् । स्रोत भन्छ, ‘तपाईको कति पैसा बाँकि छ, म दिलाउछु । आन्दोलन रोक्नु पर्यो’ भनी त्रिपाठीले भन्ने गरेको आन्दोलनकारी एक सदस्यले बताए ।
त्रिपाठी आफैं शुक्रबार दिउँसो माइतीतर मण्डलामा पुगे । उनले किसान आन्दोलनका अगुवाहरुसँग कुराकानी गरे । औपचारिक रुपमा उनले केही बोलेनन । आन्दोलनकारीहरुमाथि सहानभुति देखाए तर भित्रभित्रै भने आन्दोलन तुहाउने काममा लागेका छन् । त्रिपाठी यसअघि, तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष थिए । आन्दोलनकारी मध्ये केही अहिले पनि तराई मधेस केन्द्रित पार्टीका सदस्य छन् । यसबाट उनलाई कुराकानी गर्न सजिलो भएको छ । स्रोत भन्छ, यस काममा त्रिपाठीलाई मधेस मिडिया हाउसका राजेश अहिराजले सहयोग गरेका छन् । अहिराज नेपाल कम्युनिस्ट पार्टीसँग निकट मानिन्छन् । शुक्रबार उखु किसान आन्दोलनकारीहरुले अहिराजको मिडिया हाउसमा जम्मा भइ आगामि आन्दोलनबारेमा समिक्षा गरेका थिए । उक्त समिक्षा कार्यक्रममा अहिराज पनि उपस्थिति थिए । स्रोत भन्छ, अहिराजले त्रिपाठी र उखु आन्दोलनरीवीच मध्यस्ताको काम गरेका छन् । त्रिपाठीसँग अहिराजको विशेष सम्बन्ध छ ।
धेरैजसो आन्दोलनकारी गौशालमा बस्ने गरेका छन् । तर शुक्रबार उनीहरुले गौशालामा बैठक नगरी अहिराजको मिडिया हाउसमा बैठक गरे । स्रोत भन्छ, समिक्षा बैठक लगत्तै अहिराजले त्रिपाठीलाई भेटेका थिए । उखु किसान आन्दोलनकारीहरुलाई उखु मिल मालिकहरुले अहिले पनि ९०-९२ करोड भुक्तानी गर्न बाँकि छ तर कम्यनिस्ट सरकारका केही मन्त्रीहरु किसानहरुको बाँकि रकम भुक्तानी गराउन नलागी उल्टै आन्दोलन तुहाउने काममा लागेका छन् ।
आन्दोलनकारीहरु भने आफूले रकम भुक्तानी नपाउँदासम्म कुनै पनि अवस्थामा घर फर्कने अवस्थामा नभएको बताउछन् । एक आन्दोलनकारी भन्छन,‘अहिले हामीले कति भुक्तानी पाउछौ र बाँकि भुक्तानी कहिले पाउछौ । यसको ग्यारेण्टी र समय किटान नहुँदासम्म आन्दोलन रोकिन्न ।’ ती आन्दोलनकारी भन्छन,‘अब पटक पटक आन्दोलन गर्न अब काठमाडौ आउँदैनौ । सबै छिनोफानो यसैपटक हुनुपर्छ ।’ स्रोतका अनुसार आइतबारबाट उखु किसान आन्दोलनकारीहरुलाई रकम भुक्तानी गराउन पहल गर्ने आश्वासन उद्योगमन्त्री लेखराज भट्टले दिएका छन् । तर उखु किसान आन्दोलनकारीहरु यस्तो आश्वासनबाट ढुक्क छैनन । स्रोत भन्छ, किसान आन्दोलन तुहाउन त्रिपाठीले मात्र नभइ सुगर मिलका मालिकहरुले पनि यसमा चासो राखेका छन् । अर्का एक आन्दोलनकारी भन्छन, उखु मिल कारखानाका प्रतिनिधिहरु व्यक्तिगत आन्दोलनकारी अगुवालाई भेट्ने र गोप्य रुपमा ‘तपाईलाई पैसा चाहिएको हो । हामी पैसा भुक्तानी गर्छौ । आन्दोलन रोक्नुहोस’ भन्ने गरेको पाइएको छ । तर यो सम्भव छैन ।’