काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार खेलाडी लियोनल मेस्सीले विश्वकै लिजेन्ड खेलाडी ब्राजिलियन पेलेको कीर्तिमान बराबरी गर्न सफल भएका छन् ।
स्पेनिश क्लब बार्सिलोनाका कप्तान मेस्सीले एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका हुन् । शनिबार राति स्पेनिश ला लिगाको खेलमा भ्यालेन्सियासंग २–२ को बराबरी खेल्दा मेस्सीले एक गोल गरे ।
यो गोलसँगै मेस्सीले पेलेको कीर्तिमान बराबरी गर्न सफल भएका हुन् । मेस्सीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिलियन क्लब सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए ।
शनिबारको खेलमा मेस्सी पेनाल्टीमा गोल गर्न भने चुकेका थिए । बार्सिलोनाका लागि मेस्सी र रोनाल्डो आराउजोले १–१ गोल गर्दा पाहुना टोली भ्यालेन्सियाका लागि डायखाबी र गोमेजले १–१ गोल गरे ।
शनिबारका अन्य खेलको नतिजा
एट्लेटिको मड्रिड (लुइस सुवारेज २ गोल, डिएगो कोस्टा १ गोल) ३–१ इल्चे
लेभान्ते २–१ रियाल सोसिडाड
ओसासुना १–३ भिल्लारियल
सेभिया १–१ रियाल भल्लाडोलिड
अंक तालिका
१२ खेलबाट २९ अंकसहित एथलेटिको मड्रिड शीर्ष स्थानमा रहँदा १५ खेलबाट २६ अंकको रियाल सोसिडाड दोस्रो तथा १३ खेलबाट २६ अंकको रियाल मड्रिड तेस्रो स्थानमा छ ।
१४ खेलबाट २५ अंकको भिल्लारियल चौथो तनथा १३ खेलबाट २१ अंकको बार्सिलोना पाँचौं स्थानमा छ ।