काठमाडौं । नेपालमै पहिलो वातावरण विज्ञान र व्यवस्थापन सम्बन्धी अध्ययन अध्यापन गराउने शैक्षिक संस्था स्किम्स कलेजले हालै गठन भएको अल्मुनाईका पदाधिकारी एवम् सदस्यहरुलाई बधाई एवं प्रमाणपत्र वितरण गरेको छ ।
स्किम्स कलेजका प्रिन्सिपल अजय भक्त माथेमाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले बोल्दै अहिलेको परिस्थितिमा अल्मुनाईको महत्वका बारेमा चर्चा गरेका थिए । कलेजका तर्फबाट बोल्दै डा. कैलाश तिमिल्सिनाले बहस, पैरवी एवं सृजनात्मक कार्यक्रमहरुमा सक्रिय रहन अल्मुनाईका सदस्यहरुलाई शुभकामना दिए ।
नेपाल वातावरण समाजका केन्द्रीय सदस्य एवं अध्यापक बसन्त पौडेलले शैक्षिक उन्नयन र पैरवीलाई जोड दिनुपर्ने जिकिर गरे । संस्थापक अध्यक्षका रुपमा चयन भएका पुरुषोत्तम महतले आफूलाई जिम्मेवारीले एकदमै हर्षित बनाएको र यस जिम्मेवारीलाई सबैको सहयोगमा प्रतिबद्ध र कटिबद्ध भएर पूरा गर्ने बताउँदै यो अवसर प्रदान गर्ने स्किम्स कलेज परिवार प्रति कृतज्ञता ज्ञापन गरे ।
स्किम्स अल्मुनाइ सदस्य दिपिका अधिकारीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सहजीकरण स्किम्स कलेजका अध्यापक एवं नेपाल वातावरण समाज लुम्बिनी प्रदेश सचिव प्रवीण कुमार रेग्मीले गरेका थिए ।
नवनियुक्त कार्यसमितिमा अध्यक्ष–पुरुषोत्तम महत, सचिव– गंगा राना मगर, सदस्यहरु– रुपेश केसी, मनिशा पोख्रेल, प्रज्ञा शेरचन, लालमणि गौतम, माधव अधिकारी, सुदर्शन पनेरु, बिर्ख सुनार, सन्तोष भट्टराई र दिपिका अधिकारी रहेका छन् ।