जनकपुरधाम । प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुने विवाहपञ्चमी महामहोत्सव मनाइएको छ । कोरोना कहरका कारण भारतको अयोध्यावाट विशेष जन्ती नआए पनि आन्तिरक दर्शनार्थीहरुको सहभागितामा बाह्रबिघ्घा रंगभूमि मैदानमा भगवान रामजानकीको स्वयंवर सम्पन्न भएको थियो ।
शनिबार जानकी मन्दिर प्रांगणमा बनाइएको विवाहमण्डप (मरबा) मा साँझदेखि मिथिलाको वैदिक परम्परा अनुसार राम र सीता विवाह सम्पन्न भएको हो । राम र सीताको विवाह हेर्न शनिबार साझ मा जानकी मन्दिर प्रांगण हजारौ श्रद्धालुभक्तजनले खचाखच भरिएको थियो ।
विवाहमा रातभर सुमधुर गीतसंगीत, झाँकीकिर्तन र मिथिलाको गाली गीतसहित सांस्कृतिक कार्यक्रम भए । यहाँ मैथिलानीहरुले जन्तीका रुपमा रहेका साधुशन्तलाई थरी थरीका गाली गीतले जिस्काउने तथा स्वागत प्रचलन रहेको हो। विवाह हेर्न आएका श्रद्धालुहरु सांस्कृतिक तथा विवाहको कार्यक्रम देखेर रातभरि रमाएका थिए ।
सप्ताह व्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन जनकपुरधाम नगर दर्शन, र दोस्रो दिन फुलवारी लिला हुन्छ । नगर दर्शनमा माता जानकीलाई नगर दर्शन गराउने गरिन्छ । नगरदर्शनका क्रममा राम र जानकीको रूप धारण गरेकालाई जानकी मन्दिरको प्राङ्गनमा राख्ने गरिन्छ ।
यसका साथै रामायणका अरु पात्रहरू पनि नगर दर्शनमा सहभागी हुने गर्छन् । यो कार्यक्रममा राम, सीतासहित रामायणका पात्रका अगाडि नगरबासीलाई उपस्थित गराउने परम्परा रहेको छ ।
गीतगान त मिथिलाको विवाहमा हुनै पर्दछ । त्यसैगरी राम र सीतालाई एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लिला भन्ने गरिएको हो । राम र सीताबीच पहिलो पटक बगैंचामा भेटघाट भएको पौराणिक कथाका आधारमा फूलबारी लीला कार्यक्रम गर्ने प्रचलन छ ।
महोत्सवको तेश्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैटौं दिन शुभविवाह अर्थात विवाहपञ्चमी र सातौ दिन राम कलेवाको आयोजना गरि महोत्सवको समापन हुन्छ ।
शनिबार रातभरि विवाहको कार्यक्रम चलेको र आइतबार राम कलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न हुने जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले जानकारी दिए ।
त्रेता युगमा भगवान राम र आदर्शनारी सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ ।