कञ्चनपुर । कञ्चनपुरको पुनर्वास स्थित साना किसान सहकारी संस्थामा सञ्चालक समितिले आर्थिक अनियमितता गरेको भन्दै सहकारीका सेयर सदस्यहरूले आइतबार कार्यालयमा तालाबन्दी गरेका छन ।
सहकारीमा सञ्चालकहरुले गएको अनियमितता बारे सरोकारवालाहरुले छानबिन र सत्यतथ्य सार्वजनिक नगरी सोहि सञ्चालक समितिले लेखापरीक्षण गरि भ्रष्टाचारको तथ्य सामसुम पार्न खोजेको भन्दै शेयर सदस्यहरुले तालाबन्दी गरेका हुन ।
आर्थिक अनिमियता गरि मोज गर्न पल्केका सञ्चालक समितिका पदाधिकारीहरुले एक दिनमा सकिने बैठक २/३ दिन लगाएर बैठक लम्ब्याई बैठक भत्ता खाने गरेको, कर्जाको धितो मुल्याङ्कन गर्ने भनी सर्बसाधारणबाट रकम असुल्ने गरेको, सञ्चालक समितिमा बसिसकेका मान्छे अन्य उपसमितिमा पनि बसेको, सामाग्री खरिद समिति बिना कोटेशन आह्वान नगरी आफु खुशी भवन निर्माण गरेको, साधारण सभाबाट योजना तर्जुमा पारित नगरी ब्यवस्थापकले आफुखुशी खर्च गर्ने गरेको र प्रबन्धक उमा भुसाललाई जिम्मेवारी नदिएको सेयर सदस्यहरूको आरोप छ ।
सञ्चालक समितिले कार्यालयको रेट्रोफिटिङ्ग गरि माथिल्लो तला थप्दा आर्थिक अनियमितता भएको आरोप लगाएका छन । सो सहकारीमा हुँदै आएको चरम आर्थिक अनियमितताको छानबिनका लागि शेयर सदस्यहरुले अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा समेत उजुरी दिए पनि सुनुवाइ नभएको शेयर सदस्यहरु बताउछन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको उक्त सहकारी संस्थामा सञ्चालकहरुले लामो समय देखि आर्थिक अनियमितता गरेको बारे पटकपटक चर्चा चुलिए पनि स्थानीय निकाय र अन्य सरोकारवाला निकायहरुले सामसुम पार्दै आएको शेयर सदस्यहरुले बताए ।
रेट्रोफिटिङ्ग सहित माथिल्लो तला, दुईतिर पर्खाल, शाैचालय, समरसिबल मोटर जडान सहित ४६ लाख खर्च भएको प्रबन्धक कल्पना चापाईले बताइन । सेयर सदस्यहरूले छानबिन समिति गठन गरि वर्तमान सञ्चालक समिति उपर छानबिन गरिनु पर्ने माग राखेका छन ।