काठमाडौं। सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भएको ठहर गर्दै त्यसको भर्त्सना गरेको प्रवक्ता श्रेष्ठले बताए । बैठकले पूर्वसभामूख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । बैठकले मंसिर ७ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय पनि गरेको छ ।
बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनलाई असंबैधानिक भन्दै यस विरुद्धमा देशव्यापी प्रतिवाद गर्ने निर्णय पनि गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को आइतवार बसेको स्थायी कमिटीको वैठकले पारित गरेको प्रस्ताव :
१) आज २०७७ पुष ५ गते प्रधानमन्त्री श्री के पी शर्मा ओलीद्वारा गरिएको प्रतिनिधिसभा बिघटनको सिफारिसलाई असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, पश्चगामी र जनादेश, जनभावना एवं राजनीतिक स्थिरता बिरोधी स्वेच्छाचारी कदम ठहर गर्दै त्यसको तिब्र बिरोध एवं भर्त्सना गर्दछ । यसले नेपाली जनताले ठूलो बलिदानपुर्ण संघर्षद्वारा प्राप्त गरेको राजनीतिक परिवर्तन तथा उपलब्धिमाथि नाङ्गो प्रहार गरेको छ ।संविधानत: संविधानको रक्षा गर्ने जिम्मेवारीमा समेत रहनुभएका सम्माननीय राष्ट्रपतिज्युबाट यो असंवैधानिक कदमलाई स्विकार गरिनु पनि गम्भीर रुपमा आपत्तिजनक रहेको छ ।
संविधान र लोकतन्त्र पक्षधर शक्तिहरुका लागि यो कदम स्विकार्य हुन सक्तैन । तसर्थ हाम्रो पार्टी यसलाई पूर्णरुपमा अस्विकार गर्दछ र यसको राजनीतिक रुपमा कडा प्रतिवाद गर्दै कानूनी उपचार समेत खोज्नेछ ।
हाम्रो पार्टीका सबै नेता, कार्यकर्ता र पार्टी पंक्तिलाई संविधानको प्रवधान, मुल्य, मान्यता एवं मर्म बिपरितको यस असंवैधानिक एवं निरङ्कुश कदमको बिरोध गर्न र पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका गतिबिधि एवं कार्यको बिरुध्द एकताबध्द भई पार्टी र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जुट्न आव्ह्वान गर्दछ ।
हामो पार्टी संसद भित्र र बाहिरका सबै राजनीतिक पार्टीहरु, नागरिक समाज, लोकतन्त्र पक्षधर शक्तिहरु र आम जनसमुदायलाई यो असंवैधानिक एवं अलोकतान्त्रिक कदमको बिरुध्द संविधान र लोकतन्त्रको पक्षमा एकताबध्द भई उभिन तथा भूमिका खेल्न अपील गर्दछ ।
२) पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री के पी शर्मा ओलीले स्वेच्छाचारी किसिमले हठात प्रतिनिधिसभा बिघटनको सिफारिश गरी नेपाली जनताले कठोर बलिदानपूर्ण संघर्षबाट स्थापित जनताको सार्बभौमसत्ताको अभ्यास गर्ने प्रतिनिधिसभामाथि निर्मम प्रहार गर्नुभएको छ । पार्टी स्थायी कमिटीको वैठक जारी रहेको र संसदको अधिवेशन बोलाउनु पर्ने बेलामा दुई ठूला कम्युनिष्ट पार्टीको ऐतिहासिक एकता, पार्टीप्रति जनताले गरेको बिश्वास र भरोसामाथि प्रहार गर्दै देश, जनता र पार्टीको भविष्यलाई नै अन्धकारतर्फ धकेल्ने र नेपालको संविधानलाई असफल पार्ने कुकृत्य गर्नुभएको छ । यसरी उहाँले देश, जनता र पार्टी माथि गर्नुभएको बिश्वासघात र प्रहार नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को अन्तरिम बिधान, २०७५ को धारा ५६ को (क) मा ब्यबस्थित बिभिन्न प्रावधान बिरुध्द भएकाले उहाँमाथि अनुशासनको कार्वाहीका लागि केन्द्रीय कमिटीको वैठकमा प्रस्ताव पेश गर्ने र यसका लागि पुष ७ गते केन्द्रीय कमिटीको वैठक काठमाण्डौमा बोलाउने निर्णय गर्दछ ।