arrow

इलामको ऐतिहासिक चियाबगानमा डोजर चल्यो, सांस्कृतिक सम्पदाको दोहन भएको भन्दै चर्को विरोध

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
Ilam_tea.jpg

इलाम । इलाम बजारको साविक वस पार्कमा वहुतले सिनेमा हलसहितको ट्याक्सी पार्किङको निर्माण कार्यको लागि माटो सम्याउने क्रममा इतिहास बोकेको चियाका बुटाहरु उखेलएपछि चौतर्फी विरोध भएको छ । 

१५७ वर्ष लामो इतिहास बोकेको इलाम चिया कमानमा रहेका चियाका बोटहरु उखेलेर रातारात डोजर चलाएपछि स्थानीयहरुले बिरोध जनाएका छन् । लगभग १० मिटर चियाबगानमा डोजर लगाइएको छ  । 

इलामको ऐतिहासिक साँस्कृतिक सम्पदाको दोहन गर्न नपाइने भन्दै स्थानीयवासीहरुले विभिन्न किसिमले विरोध जनाइरहेका छन् । विश्वबाटै लोप हुन लागेका चियाका प्रजाति रहेको बगानलाई सरकारले नै दोहन गर्न थालेपछि सर्बत्र विरोध भइरहेको हो ।

बुद्धिजीवि तथा अध्येता डा. देवी क्षेत्री दुलालले चियाबारी दोहनको चर्को रुपमा विरोध जनाउँदै सामाजिक संजालमा लेखेका छन-ऐतिहासिक र सांस्कृतिक सम्पदाको दोहन गर्न पाइँदैन ,कथित बहुतले ट्याक्सी पार्क चाहिंदैन । नेपाल र नेपालीको यो सान इलामको १५७ वर्ष पुरानो चिया बगान मास्न मिल्दैन । कुनैपनि सरकारले यस्तो ध्वङ्सात्मक काम गर्नु आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु हो । यसर्थ यो कु–काम तुरुन्तै बन्द हुनुपर्छ । यसमा मेरो घोर आपत्ति र बिरोध छ। आम सचेत इलामवासी दाजुभाइ ,दिदीबहिनी ,सञ्चारजगत र राजनीतिक दललाई यो ध्वङ्सात्मक कुकृत्यलाई रोक्न र हाम्रो  ऐतिहासिक चिया बगान जोगाउन सरिक होऔं भनि हार्दिक अपिल गर्दछु ।’

त्यस्तै स्थानीय पत्रकार राजेश पराजुलीले पनि ऐतिहासिक चिया बगान मास्ने कार्यको विरोध गरेका छन् । उनले लेखेका छन्-इलाम मात्रै होईन, नेपालकै इतिहास बोकेको इलाम चिया बगान जोगाउन वि.सं २०५४ सालमा हालका इलामे मेयर महेश बस्नेत ज्युको अगुवाईमा हामी केही युवाहरु प्रहरीको अवरोधबीच पनि उहाँको एकल आन्दोलनमा दिलोज्यान दिएर लागेका थियौ ।

तर आज बहुतले भवन निर्माणको नाममा उहाँले सम्हाल्नु भएको नगरपालिकाबाट त्यही चिया बगान क्षतविक्षत पार्दा उहाँलाई मनबाट चित्त बुझ्यो कि बुझेन ? थाहा छैन । तर एक–दुई वर्ष अघि चियाबारीको बिचमा रंगशाला बनाउने चर्चा चल्दा ‘यो काम गर्नु ठिक होईन’ भनेर सबैको आवाज बुलन्द भएको थियो ।

तर सांघाईबाट (हाल नेपाल चिया विकास निगमको बगान लिजमा लिने) आन्दोलिन गर्ने महेश बस्नेत ज्युबाट चियाका बोटहरु मास्ने कार्य अत्यन्तै निन्दनीय छ । तर के गर्नु ? आसामे पत्ति लगाएको बगानको आधा भाग स्काभ्टरले खाईसक्यो ।’

स्थानीय अगुवा तथा सर्बसाधारणले नगरपालिकाको कदमलाई विरोध गरिंरहँदा नेपाली कांग्रेसले पनि साथ दिएको छ । आइतबार एक विज्ञप्ति निकाल्दै नगरवासीप्रति धोका र गद्दारी गरेको आरोप लगाएको छ । नगरक्षेत्रका आम स्थानियवासी, सरोकारवाला नागरिक सञ्चार माध्यम आदिमा व्यापक चिन्ता र चासो व्यक्त भइरहँदा पनि ऐतिहासिक तथा वातावरणीय प्रभावलाई बेवास्ता गरेको भन्दै कांग्रेस गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बसपार्क सञ्चालनमा ल्याउनुको साटो नगरको ढिकुटीको दुरुपयोग र चरम दोहन व्यक्तिको स्वार्थ र अभिष्ट पूर्ति गर्नेगरी नगरपालिकाले नगरवासिप्रति धोका र गद्दारी गरेको कांग्रेस इलामका सभापती हिमालय कर्माचार्यले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

यता नगरपालिकाका नगर प्रमुखले भने सो स्थानमा नगरपालिकाको जग्गा भएको र त्यसको उपयोग गर्दा चियाका बोटाहरु कटान गरेको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै, नगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामकुमार साहले विज्ञप्तिमार्फत ऐतिहासिक चिया बगान मासेर संरचना नबनाएको बताएका छन् । चिया बगानको जमिन अतिक्रमण गरेर वसपार्कमा बहुतले भवन निर्माण गर्ने नगरपालिकाको कुनै योजना नरहेको भन्दै वर्तमान आवश्यकतालाई ध्यानमा राखेर पूर्वाधार निर्माणको कार्य भईरहेको उल्लेख गरेका छन् । 

आफ्नो जग्गाको सिमाना मिलाउने कार्य गरिरहेको अवस्थामा बहुतले भवन निर्माणका लागि घडेरी सम्याउँदा साँध, सिमानाका जग्गा र चियाबारीतर्फ क्षति न्यून गरिएको र भविष्यमा समेत चिया वगानको संरक्षणमा नगरपालिका प्रतिबद्घ रहेको बताएको छ ।

तर चिया कमानमा विश्वबाट नै लोप भई सकेका प्रजातिहरु रहेको र यसको अतिक्रमण गरेर चियाका गाँजहरुमा डोजर लगाउनु देशकै चिया इतिहासमाथि अतिक्रमण गर्नु निन्दनीय भएको चियाका विद्यार्थी आसी नेपाल वताउँछन् ।

नेपालमा चियाको इतिहास पल्टाउने हो भने १९२० सालमा इलामको यही नगरपालिकाले अतिक्रमण गरेको चिया कमानमा वडा हाकिम गजराज थापाले चीनले दिएको कोशेली चियाका विरुवा लगाएको इतिहास रहेको छ । 



लोकप्रिय समाचार
नयाँ