काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार गठित विभिन्न समिति तथा फोरममा सभापतिहरू चयन भएका छन्। महासंघका पदाधिकारीहरूको उपस्थितिमा सचिवालयमा आयोजित एक विशेष समारोहमा अध्यक्ष शेखर गोल्छाले विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन भएका कार्यकारिणी समिति सदस्यहरूलाई कार्यक्षेत्र सहित सभापतिको औपचारिक पत्र हस्तान्तरण गरेका थिए।
चयन भएका सभापतिहरुमा उद्योग समितिमा भरतराज आचार्य, व्यापार समितिमा विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समितिमा डिबी वस्नेत, महिला उद्यमी विकास समितिमा रिता सिंह, स्थल यातायात तथा पारवहन समितिमा प्रकाश सिंह कार्की, कर तथा राजस्व समितिमा संदिप कुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा ज्योत्सना श्रेष्ठ, सूचना तथा संचार प्रविधि विकास समितिमा मंगेशलाल श्रेष्ठ र बैंक, वित्तिय तथा बीमा समितिमा शाहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ।
त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एण्ड इनोेभेशन समितिमा रंजितराज आचार्य, स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य, स्वास्थ्य तथा शीप विकास समितिमा हेमराज ढकाल, निर्यात प्रवद्र्धन समितिमा मनिषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खडका, उर्जा तथा वातावरण समितिमा गोपाल खनाल र शहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ।
त्यसैगरी फोरमतर्फ द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरममा ईन्जिनियर देश बन्धु बस्नेत(अजित),सामाजिक तथा स्वास्थ्य सेवा फोरममा राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरममा आकाश अधिकारी, पूँजी बजार फोरममा अम्बिका प्रसाद पौडयाल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ।
कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाउनु भएका कार्यकारिणी समितिका सदस्यहरूले सिंगो निजी क्षेत्रलाई शसक्त ढंगबाट अगाडि बढाउने र महासंघको गरिमा उच्च बनाउने कार्यमा आ–आफ्नो जिम्मेवारीलाई परिणाममुखी ढंगले निर्वाह गर्नुहुने अपेक्षा राखे। साथै उनले आ–आफ्ना समिति तथा फोरमलाई शीघ्र पूर्णता दिई समिति तथा फोरमका कार्यलाई अगाडि बढाउन शुभ–कामना समेत दिए।
वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नवनियुक्त सभापतिहरूलाई बधाई सहित जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने कार्यमा सफलताको शुभकामना दिए। कार्यक्रममा उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता थियो।