arrow

ओली र विद्याको कदमप्रति नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनद्धारा घोर भत्सर्ना 

logo
प्रकाशित २०७७ पुष ६ सोमबार
dla-laxmi-dahal.gif

काठमाडौं । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनले केपी शर्मा ओली नेतृत्वको सरकारले अधिनायकवादी र लोकतन्त्र विरोधी सर्वसत्तावादी चरित्र उदाङ्ग पार्दै संविधान र संसदीय प्रणालीको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त बनाउने खेलतर्फ उन्मुख भएको आरोप लगाएको छ ।

एशोसिएशनकी महासचिव लक्ष्मी दाहाल रावलले सोमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘संविधानको सारवस्तु लोकतान्त्रिक गणतन्त्र र संसदीय शासन प्रणाली बिरुद्ध आफ्नो स्वार्थ सिद्धका लागि पार्टी, देश र जनता शंकटमा पार्ने गरि गरिएका सिफारिस र सो आधारमा गरिएका निर्णय असंवैधानिक, अलोकतान्त्रिक हुनुको साथै जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामाथि प्रहार गर्ने गरी गरिएका उक्त कार्यको  नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन घोर भत्सर्ना गर्दछ।’
  
विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा जनमतको सम्मान हुन्छ र हुनुपर्छ । राजनीतिक स्थायीत्व र देशको समृद्धिको पक्षमा जाहेर भएको प्रवल जनमतलाई अपमान गर्दै जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा विघटन गरिएको सिफारिस र निर्णयप्रति नेपाल डेमोक्र्याटिक लयर्श एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको संविधानको धारा ७६ (१), (७) र ८५ एवम् संसदीय प्रणालीको हवाला दिँदै प्रतिनिधिसभा विघटन गर्ने कार्य प्रथम दृष्टिमै अनाधिकार, गैरसंवैधानिक र गैरसंसदीय समेत छ । संविधानको धारा ७६ (७) र ८५ (१) ले एकपटक विश्वासको मत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने गर्न सक्ने परिकल्पना सम्म नगरेको अवस्थामा सो धाराहरूको गलत उल्लेखन गर्दैमा गैरसंवैधानिक कार्य संविधानसम्मत हुँदैन, हुनसक्दैन ।’

अगाडि भनिएको छ, श‘संविधानतः संविधान को पालक र संरक्षक राष्ट्रपति महोदय, संविधानको पालन र संरक्षण भन्दा निरन्तर अमुक दलको गुट विशेषको स्वार्थसिद्धिमा सहयोगी देखिनु सर्वथा अवान्छनीय छ । देश र जनता कोरोना कहरले थिलथिलो भएको समयमा देशलाई अनावश्यक भार पर्ने गरी गैरसंवैधानिक रूपमा मध्यावधि निर्वाचनमा धकेल्ने असम्वेदनशील कार्य संविधान माथिको जालसाजी मात्रै होइन सुखी नेपाली र समृद्ध नेपालको नारा दिएर देश र जनतालाई भड्खालोमा पार्ने राजनीतिक बेइमानीसमेत हो ।’

एशोसिएशनले आव्हान गर्दै भनेको छ, ‘प्रतिनिधिसभा विघटन संवैधानिक र राजनीतिक दुवै दृष्टिकोणले औचित्यहीन, अवान्छनीय, अनुपयुक्त र अनुचित छ । यो पश्चगामी, अलोकतान्त्रिक र अधिनायकवादी कदमको कडा भत्सर्ना गर्दै देश र संविधानको रक्षार्थ ठोस संघर्ष गर्न एकताबद्ध र परिणाममुखी पहल र प्रयासका लागि नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन सम्बन्धित सबैमा हार्दिक आव्हान गर्दछ।’



लोकप्रिय समाचार
नयाँ