arrow

सभामुखलाई विशेष अधिवेशन बोलाउने सुझाव दिंदै जसपा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ६ सोमबार
janata-samajwadi-party.jpg

काठमाडौं। जनता समाजवादी पार्टीका नेताहरु सभामुखले संविधानको धारा १०३को (२) बमोजिम विशेष अधिवेशन बोलाउनु अहिलेको विशेष परिस्थितिमा सबैभन्दा उपयुक्त बाटो भएको सुझाव दिएका छन् । यस विषयमा छलफल गर्न पाटीले केही बेरमा पार्टीको कार्यकारिणी समितिको आकस्मिक बैठक बोलाएको छ ।

बैठकमा अहिलेको विशेष परिस्थितिमा विभिन्न विषयमा छलफल हुने पार्टीका नेताहरुले जनाएका छन् । ‘तर सबैभन्दा राम्रो बाटो भनेको संविधानको धारा १०३ अनुसार सभामुखले विशेष अधिवशेन बोलाउनु पर्छ र यसको जानकारी राष्ट्रपतिलाई गराउनु पर्छ’जसपाका नेता मनिष सुमनले भने । पार्टीको आकस्मिक बैठकमा यस विषयमा पनि छलफल हुने उनले जनाए ।

पार्टीका अर्का नेता केशव झाले अहिले सभामुखले विशेष अधिवेशन बोलाउन सक्ने भन्दै संविधानले सभामुखलाई त्यस्तो अधिकार दिएको बताए । ‘अब हामी सर्वोच्च अदालत र सडक संघर्षको बिकल्पमा पनि जान्छौ’झाले भने,‘सभामुखले विशेष अधिवेशन बोलाउने र त्यसलाई सर्वोच्चले मान्यता दियो भने अहिलेको समस्याको निकास हुन्छ ।’ श्रीलकांमा हालै भएको घटनालाई नेपालले पनि अबलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

आकस्मिक बैठक जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने भएको छ । बैठकमा सहभागी हुन पार्टीका कार्यकारिणी समितिका सदस्यहरुलाई बोलाइएको छ । जसपाका नेताहरूले संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा प्रधानमन्त्री केपी ओली लागेको बताएका छन् ।

‘प्रधानमन्त्रीले बैशाखमा चुनाव गराउदैनन । यो भनेको गणतन्त्र र संघीयता समाप्त पार्ने खेलमा प्रधानमन्त्री लागेका छन’सुमनले भने,‘प्रधानमन्त्रीको भित्री मनले अहिले पनि गणतन्त्र र संघीयतालाई स्विकार गरेको छैन ।’

प्रधानमन्त्रीले संसद विघटन गरे लगत्तै जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकाली संसद विघटनको सिफारिश निरंकुशता र अधिनायकबादको पराकाष्ठ भएको जनाएका थिए । साथै संसद् विघटनको सिफारिश विरुद्ध प्रतिबादमा उत्रन उनीहरुले पार्टीका कार्यकर्ता पंक्तिलाई आब्हान गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ