काठमाडौं। असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा गरिएको प्रतिनीधि सभा बिघटन विरुद्ध मानव अधिकार तथा शान्ति समाजले गरेको प्रदर्शनबाट १६ अधिकारकर्मी गिरफ्तार भएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण ढोका अगाडि शान्ति समाजद्वारा आयोजित बिरोध प्रदर्शनका क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पुर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु अमृतजंग महत, ईश्वर पुडासैनी, माया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का, तुलसीराम भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र राष्ट्रपति बिद्यादेवी भण्डारीको मिलेमतोमा प्रतिनीधि सभा बिघटन हुनु असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक रहेको मानव अधिकार तथा शान्ति समाजले बताएको छ। बिरोध प्रदर्शनमा संसद बिघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास, कुशासनमा लिप्त ओली सरकारः प्रतिगमनको सबैभन्दा ठुलो मतियार लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
प्रतिगमन बिरुद्ध शान्ति समाजको आन्दोलनका क्रममा हिजो पुस ५ गते शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसिपुरमा र रुपन्देही शाखाको आयोजनामा बुटवलमा प्रदर्शन गरिएको थियो भने देशभर विरोध प्रदर्शनको क्रम निरन्तर रहेको बताइएको छ।