काठमाडौं। चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जनमोर्चाको सोमबार बसेको केन्द्रीय समिति बैठकले सरकारले चालेको संसद विघटनको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भएको निश्कर्ष सहित सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको हो।
केन्द्रीय समिति बैठकपछि अध्यक्ष केसीले विज्ञप्ति जारी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको बताएका हुन। ‘हामीले सरकारलाई गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेका थियौं, तर प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल स्थितिमाथि विचार गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेका छौं,’ विज्ञप्तीमा भनिएको छ।
विज्ञप्तीमा संसद विघटनको कार्य देश र जनताको हितका विरुद्ध रहेको भन्दै व्यापक एकता र राजनीतिक स्थिरताको आवश्यकता भएको समयमा संसद विघटन गरिनु गलत भएको भनिएको छ।
गणतन्त्र र धर्म निरपेक्षता समाप्त पार्न प्रतिगामी शक्तिहरु सक्रिय भइरहेका बेला गरिएको संसद विघटन फिर्ता हुनु पर्ने केसीद्धारा जारी विज्ञप्तीमा भनिएको छ।