arrow

नेकपामा कोतपर्व विर्साउने गरि कार्वाहीपर्व हुने, दुई अलग गुटको केन्द्रीय समिति बस्दै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ६ सोमबार
oli-ncp.jpg

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजनको अन्तिम अवस्थामा पुगेपछि एक अर्कालाई कारवाही गर्ने प्रकृया शुरु भएको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल समूहले बेग्ला बेग्लै केन्द्रीय कमिटीको बैठक राखेर एकले अर्कालाई कारवाही गर्दै पार्टी विभाजनको औपचारिक शुरुवात गर्ने भएका हुन्। यी वैठक कोतपर्व विर्साउने गरि कार्वाहीपर्वमा रुपान्तरित हुने देखिएको छ।

दुवै अध्यक्ष मंगलबारका लागि केन्द्रीय कमिटीको समानान्तर बैठक आह्वान गरेपछि औपचारिकमै फूटको घोषणा हुन लागेको हो। प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। ओलीले आह्वान गरेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बोलाएको वैठक दिउसो १ बजे कार्की ब्यांक्वेट बबरमहल काठमाडौमा बस्नेछ।

प्रचण्ड–नेपाल पक्षले ओलीलाई अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको हो। पार्टी कार्यालयवाटै दुई अध्यक्षका लागि दुई जना कर्मचारीले छुट्टाछुट्टै बैठकका लागि निम्ता गरेका छन्। नेकपाको विधानमा केन्द्रीय कमिटीको १९ ओटा अधिकारको व्यबस्था छ। तीमध्ये अनुशासनसँग सम्बन्धित काम गर्ने दुईओटा व्यबस्था विधानमा गरिएको छ।

जसअनुसार विधानको ङ को दफा १० मा मातहत कमिटीबाट अनुशासनको कारबाहीमा परेका व्यक्ति तथा कमिटीको उजुरीमाथि आवश्यक छानविन गरी निर्णय दिने तथा दफा ११ मा पार्टीको एकता, हित र सुरक्षामा खलल पार्ने मातहतका कुनै पनि कमिटीका निर्णयलाई बदर गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्ने तथा पार्टी निर्देशन पालना नगर्ने कमिटीलाई विघटन गर्ने र सङ्गठित सदस्य तथा सदस्यलाई आवश्यक कारवाही गर्ने उल्लेख छ। सोही अनुसार ओली पक्षले दाहाललाई कारवाही गर्ने र दाहाल पक्षले ओलीलाई कारवाहीको तयारी गरेका हुन्। ‘दुवै समूहले विधानको यही दफाअनुसार एकले अर्कोलाई कारबाही गर्ने तयारी गरेका छन्’, नेकपाका एक केन्द्रीय सदस्यले भने । विधानको धारा १८ मा केन्द्रीय कमिटीमा दुई अध्यक्षको व्यबस्था छ त्यसमा अध्यक्षहरुको कार्यसम्पादन उल्लेख छ। त्यस्तै, महाधिवेशनअघिको निर्णय गर्ने सर्बोच्च संस्थाका रुपमा व्यबस्था गरिएको छ।

धारा १८ को झ मा दुवै अध्यक्षले राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठकको संयुक्त रूपमा वा आपसी सल्लाहमा दुईमध्ये एकले वा बैठकमा एकजना मात्र उपस्थित भएमा निजले अध्यक्षता गर्ने उल्लेख छ । पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले वा आपसी सल्लाहमा एकअध्यक्षले हस्ताक्षर गर्ने व्यवस्था गरिएको छ । यो विषयमा पनि नेकपाभित्र विवाद कायमै रहेको बेला दुवै पक्षले केन्द्रीय कमिटी बैठक बोलाएर कारवाही अघि बढाउने भएका छन् । केन्द्रीय कमिटी बैठकका लागि उनीहरुले राती अबेरसम्म केन्द्रीय सदस्यहरुलाई बोलाइरहेका छन् ।



लोकप्रिय समाचार
नयाँ