काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी नियन्त्रणतर्फ उन्मुख भएको छ । सोमबार मात्र १९ हजार १४१ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १ करोड ७५ हजार ४२२ रहेको छ ।
सोमबार कोरोनामुक्त हुनेको संख्या ३० हजार १९९ रहेको छ । सोमबार ११ हजार भन्दा बढीको अन्तरमा सक्रिय संक्रमित घटेका छन् । योसँगै सक्रिय संक्रमितको संख्यामा कमी आएर दुई लाखको आँकडामा आएको छ । हाल २ लाख ९० हजार ९७७ जना सक्रिय संक्रमित रहेका छन् ।
सोमबार थप ३०० जनाको ज्यान गएको छ । हालसम्म १ लाख ४६ हजार १४५ जनाको ज्यान गइसकेको छ ।
सोमबार सबैभन्दा बढी केरलामा ३ हजार ४२३ जना संक्रमित थपिए । २७ जनाले ज्यान गुमाए । महाराष्ट्रमा २ हजार ८३४ संक्रमित थपिए भने ५५ जनाले ज्यान गुमाए ।
नेपालसँग सीमा जोडिएको बिहारमा मात्रै २८७ जना संक्रमित थपिँदा ६ जनाले ज्यान गुमाएका छन् ।