काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता खगराज अधिकारीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका सबै बैठक अबैध भएको बताएका छन् । उनले प्रचण्ड पक्षले गरेका सबै अवैध भन्दै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्प्रतिशत सदस्यहरु रहेको बताएका हुन् ।
मंगलबार प्रचण्ड–माधवकुमार नेपाल पक्ष र ओली पक्षको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बस्दै गर्दा ओली पक्षीय अधिकारीले ओली पक्षसँग सत्प्रतिशत सदस्य रहेको दावीसहित प्रचण्ड–नेपालको भेलाको निर्णय आउनुअघि नै ओलीले कार्वाहीको निर्णय केन्द्रीय समितिबाट ल्याउने दावी गरे ।
नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा बोल्दै उनले पहिलो अध्यक्ष आधिकारिक भएकाले ओलीले बोलाएको बैठकमात्रै आधिकारिक भएको स्पष्ट पारे । नेता अधिकारीले प्रचण्डमा कुृनै बेला बुद्धि आउने र फेरि एक हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘फलानालाई राष्ट्रपति बनाउने भनेर हिँडेको दुनियाँलाई थाहा छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने चर्चा गरेको पनि थाहा छ ।’
प्रधानमन्त्री ओलीले अचानक गत आइतबार (पुस ५ गते) संसद विघटन गरेपछि नेपालभित्र तरङ्ग छाएको छ । सबैभन्दा तरङ्ग नेकपाभित्रै आएको छ ।
ओली र इतर पक्षले छुट्टाछुट्टै भेला गरेका छन् । मंगलबार छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछ । ओलीले प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ९ बजे बैठक बोलाएका छन् ।
त्यस्तै प्रचण्ड–नेपाल पक्षले दिउँसो १ बजे कार्की ब्याङ्क्वेट बबरमहलमा बैठक बोलाएका छन् । दुवै पक्षका लागि पार्टी मुख्यालय धुम्बाराही भने अर्घेलो भएको छ ।