डोटी । कोरोना भाइरसको महामारीबाट मृत्यु भएका नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत स्टोर प्रमुख पदमसिंह बडालको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल विद्युत प्राधिकरण (आधिकारिक ट्रेड यूनियन) राष्ट्रिय कर्मचारी यूनियन सुदूरपश्चिम प्रदेशले बडालको परिवारलाई घरमा गएर तीन लाख बढी सहयोग गरेको हो ।
आधिकारिक ट्रेड यूनियनका सुदूरपश्चिम प्रदेश अध्यक्ष लोगबहादुर विष्टले पदमसिंह बडालकी श्रीमती विरमा महरा बडाललाई दार्चुला खलंगा पुगेर तीन लाख एक हजार पचपन्न रुपैयाँ हस्तान्तरण गरेको बताए ।
उनले भने, ‘वडालको परिवारको आर्थिक अवस्था कमजोर भएकाले छोराछोरीको पढाई खर्च र घर परिवार चलाउन सहज होस् भन्ने उद्धेश्यले सहयोग गरेका हौं ।’््
सुदूरपश्चिममा कार्यरत कर्मचारीबाट सो रकम जुटाएर बडालको परिवारलाई वितरण गरिएको अध्यक्ष बिष्ट बताए । बडाल यूनियनका सुदूरपश्चिम प्रदेश सदस्य पनि थिए । बडालको गत कार्तिक ३० गतेका दिन ३० वर्षको उमेरमा कोरोनाका कारण मृत्यु भएको थियो ।