काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रिय कमिटी विस्तारको पत्र दर्ता गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षरसहित आयोगमा पठाइएको पत्रलाई आयोगले दर्ता गरेको हो।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केन्द्रिय कमिटी पुर्नगठनको पत्र आयोगमा प्राप्त भएको र दर्ता गरिएको जानकारी दिए। ‘नेकपा केन्द्रिय कमिटी पुर्नगठनको पत्र प्राप्त भयो, पत्र दर्ता भइसक्यो,’ प्रमुख आयुक्त थपलियाले हाम्राकुरासँग भने।
मंगलबार बिहान बालुवाटारमा बसेको प्रधानमन्त्री ओली निकटको केन्द्रिय कमिटी बैठकले केन्द्रिय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थप गर्ने निर्णय गरेको थियो। योसँगै नेकपाको केन्द्रिय कमिटीलाई महाधिवेशन आयोजक कमिटीका रुपमा ११ सय ९९ सदस्यीय बनाइएको छ।
नेकपामा हाल ४ सय ४६ जनाको केन्द्रीय कमिटी छ। बाँकी १ सय ९७ जना पछि थप गर्न सक्नेगरी १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी प्रस्ताव गरिएको थियो।