तेल अभिभ। इजरायल र मोरक्कोबीच पहिलो व्यावसायिक हवाई सेवा मङ्गलबार शुरु भएको छ। इजरायलको तेल अभिभबाट पहिलो विमान मोरक्कोका लागि उडेको स्थानीय टेलिभिजनहरुले प्रसारण गरेका छन्। अमेरिकी अग्रसरतामा इजरायल र मोरक्कोबीच सम्बन्ध सामान्यीकरण गर्ने सम्झौता भएसँगै दुबै देशबीच पहिलो व्यावसायिक उडान शुरु भएको हो।
इजरायली विमान सेवा अल एलको पहिलो उडानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ एवं सल्लाहकार जारेड कुश्नर तथा इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार मेइर बेन शाब्बात रहेका थिए। यो विमान मोरक्कोको राजधानी राबातका लागि प्रस्थान गरेको हो।राबातमा मोरक्को र इजरायली अधिकारीहरुले विभिन्न विषयका सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
अमेरिकी मध्यस्थतामा यसअघि अरब मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) सँग इजरायलको दौत्य सम्बन्ध स्थापना गरिएको थियो। यी दुबै मुलुकले एकअर्का देशमा राजदूतावास खोल्ने, पर्यटकीय गतिविधि सञ्चालन गर्ने, प्रत्यक्ष हवाई उडान गर्ने एवं लगानी गर्ने समेतका विभिन्न विषयमा सम्झौता गरिसकेका छन्।
यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले पनि दौत्य सम्बन्ध स्थापना गरिसकेका छन्। खासगरी प्यालेस्टिनीको विषयलाई लिएर अरब राष्ट्रसंग इजरायलको सम्बन्ध वर्षौंदेखि तिक्ततापूर्ण रहिआएको छ।