काठमाडौं। बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध पनि फाइजरले बनाएको खोपले काम गर्न सक्ने सम्भावना देखिएको छ। फाइजरले जर्मन बायोएनटेकसँग मिलेर कोरोना भाइरसविरुद्धको खोप बनाएको थियो । यो खोप विभिन्न देशमा मानिसहरुलाई लगाउँन सुरु गरिएको छ।
बायोएनटेकका सीईओ उगुर सहिनले बेलायतमा देखिएको ७० प्रतिशत बढी संक्रामक भाइरसविरुद्ध पनि फाइजरको खोपले काम गर्न सक्ने बताएका हुन् । यदि काम गरेन भने ६ हप्ता भित्र खोपलाई अनुकुलित बनाइने समेत उनले बताएका छन् ।
बेलायतमा देखिएको भाइरसमा ९ वटा परिवर्तनहरु फेला परेको थियो । उनले भनेका छन्, 'फाइजरको खोप १ हजार एमिनो एसिडको प्रयोग गरेर बनेको छ, त्यसमध्ये ९ वटा मात्रै परिवर्तन भएको हुनाले ९९ प्रतिशत प्रोटिनले स्वरुप परिवर्तन गरेको भाइसविरुद्ध लड्न सक्छ ।'
यो नयाँ भेरियन्टमाथि परीक्षण थालिएको र २ हप्ताभित्रै नतिजा थाहा हुने उनले बताएका छन्।