काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई केन्द्रीय सदस्यहरु सहभागी भएको बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको छ । बबरमहलस्थित कार्की बैन्क्वेटमा मंगलबार बसेको नेकपा केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गर्दै नेपाललाई अध्यक्ष बनाएको हो । अब नेकपामा पुष्पकमल दाहाल प्रचण्डसँग माधव नेपालले अध्यक्ष पद शेयर गर्नेछन्। बैठकमा वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई अध्यक्ष प्रस्ताव गरेका थिए ।
नेकपाको कूल ४ सय ४६ केन्द्रिय सदस्यहरु मध्ये पुष्पकमल दाहाल र माधव नेपालको समूहले बोलाएको केन्द्रिय समिति बैठकमा ३ सय १० केन्द्रीय सदस्य सहभागी भएको सो समूहको दाबी छ ।
अध्यक्ष ओलीले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको ठहर गर्दै वैठकले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरेको बताइएको हो ।