काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्ने सहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। जसपाको मंगलबार बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्नेदेखि मसाल जुलुससम्मका विरोधका कार्यक्रम घोषणा गरेको हो।
जसपा अध्यक्ष उपेन्द्र यादवका अनुसार विरोध कार्यक्रम अन्तर्गत चार दिनको कार्यक्रम तय गरिएको छ। जसअनुसार ९ पुसमा आन्दोलन तयारी बैठक गर्ने, १० गते देशभरका सबै जिल्लाका सदरमुकामहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गर्ने, ११ गते मसाल जुलुस निकाल्ने र १२ गते जिल्ला सदरमुकामसहित काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने निर्णय गरिएको छ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जनताको सर्वोच्च प्रतिनिधि संस्था प्रतिनिधि सभाको विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी निणर्यको जनता समाजवादी पार्टी, नेपाल जोडदार बिरोध गर्दै आन्दोलनका कार्यक्रमहरू तय गरिएको छ।’ केन्द्रीय कार्यकारिणी समिति बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ।