काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार खेलाडी लियोनल मेस्सीले विश्वकै लिजेन्ड खेलाडी ब्राजिलियन पेलेको रेकर्ड पनि तोड्न सफल भएका छन् । उनले सबै खेलाडीको रेकर्ड तोड्न सफल भएका हुन् ।
स्पेनिश क्लब बार्सिलोनाका कप्तान मेस्सीले एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको रेकर्ड तोडेका हुन् । मंगलबार रियाल भल्लाडोलिडमाथि ३–० गोल अन्तरको जित निकाल्ने क्रममा गोल गर्दै मेस्सीले सबैका रेकर्ड तोडेका हुन् ।
यसअघिको खेलमा भ्यालेन्सिया विरुद्धको खेलमा २–२ गोलको बराबरी खेल्दा गोल गरेका मेस्सीले पेलेको बराबरी गरेका थिए । तर मंगलबारको खेलपछि पेलेलाई पनि पछाडि छाडेका छन् ।
मेस्सीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । मंगलबार राति ६४४ गोल गरे । पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिलियन क्लब सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए ।
मेस्सी एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले ४६ वर्षसम्म पेलेले राखेको रेकर्ड तोडेका हुन् । अब उनको रेकर्ड तोड्न पनि लामो समय लाग्ने निश्चित छ ।