डोटी । पाठेघरको समस्या भएका महिलाहरुको उपचार अप्रेशन डोटीमै हुनथाले पछि स्थानीयहरू खुशी भएका छन् । धेरै जसो महिलाहरूमा देखिने पाठेघरको समस्या तथा क्यान्सरबाट ग्रसित बिरामीहरूले डोटी जिल्ला भित्रै विशेषज्ञ सेवा पाउन थालेपछि खुशी भएका हुन् ।
राजपुर स्थित सुजंङ्ग अस्पतालले स्त्रीरोग विशेषज्ञ सेवा दिन थालेको दुई वर्ष मै हजारौं बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । पछिल्लो केही दिन यता स्त्रीरोग विशेषज्ञ डा पंकज प्रतावको नेतृत्वको टोलीले तीन जना पाठेघरको क्यान्सर हुने अवस्थामा पुगेका बिरामीको अप्रेशन विधिबाट सफल उपचार गरेको छ ।
केहि दिनको अवधिमा दिपायल सिलगढी नगरपालिका ५ ठाँटीकी नाउटी देवी भण्डारी, वडा नं ७ पाकरीकी ४८ वर्षीया कौशी विष्ट र सोही नगरपालिकाको वडा नं ८ लडागडा की २५ वर्षीया काली साउदको सफल अप्रेशन भएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायारले जानकारी दिए ।
यसअघि पाठेघरको समस्या भएका बिरामीले तराई तथा भारतका विभिन्न अस्पतालमा धाउनुपर्ने वाध्यता थियो । अहिले सुजंङ्ग अस्पातलमा सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाहरुबाट उपचारको लागि बिरामी आउने गरेका छन् । बिरामी नाउटीदेवीका श्रीमान गणेश भण्डारीले घर नजिकै, जिल्ला भित्रै, अन्यन्त्र भन्दा सस्तोमा गुणस्तरीय सेवा पाएकोमा खुशी व्यक्त गरे ।