काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप विकास गर्ने काम गरिरहेको छ । भारतले विकास गरिरहेको खोप अन्तिम चरणमा रहेको बताइएको छ । भारतले विश्वलाई नै सहयोग पुग्ने गरी करोडौं डोज खोप उत्पादन गर्ने प्रतिवद्धता जनाएको छ ।
भारतले आफ्नो मुलुकको स्वास्थ्यका लागि मात्र नभएर विश्वव्यापी प्रयोजनका लागि खोप उत्पादन गर्ने भएको बताउँदै आएको छ । कोरोना महामारी विरुद्धको सामूहिक लडाइँमा भारतले छिमेकी मुलुकहरुसहित विश्वलाई नै खोप उपलब्ध गराउनु आफ्नो दायित्व भएकोसमेत बताएको छ ।
कोरोना महामारी विरुद्धको विश्वव्यापी लडाइँमा भारत विश्वको फार्मेसीको केन्द्र बनिरहेको छ । यसअघि पनि भारतले कोरोनाविरुद्धको उपचारमा प्रभावकारी मानिएको हाइड्रोक्सिक्लोरोक्वाइन र रेम्डेसिभिर पनि अमेरिकासहित विश्वका विभिन्न मुलुकहरुलाई उपलब्ध गराएको थियो । भारतले विश्वका विभिन्न मुलुकहरुलाई अन्य स्वास्थ्य उपकरणहरु पनि सहयोग गरिरहेको छ ।
२८ नोभेम्बर सम्मको तथ्यांकअनुसार भारतमा हरेक १० लाख मानिसहरुमा ६ हजार ७३१ मानिसहरु कोरोना संक्रमित भएका छन् । अमेरिकामा हरेक १० लाखमा ४० हजार मानिसहरु कोरोना संक्रमित भएका छन् ।
बेलायतमा १० लाख मानिसहरु २३ हजार ३६१ जनामा कोरोना संक्रमण भएको छ भने ब्रजिलमा हरेक १० लाखमा २९ हजार १२९, इटालीमा २५ हजार ४५६ मानिसहरु संक्रमित भएका छन् ।
भारतको तुलनामा विश्वमा सबैभन्दा बढी प्रभावित मुलुकमा हरेक १० लाखमा ४–५ गुणा बढी संक्रमितहरु रहेका छन् । भारतमा हरेक १० लाखमा ९८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हरेक मानिसको जीवन अमूल्य छ । कुनै पनि एकजनाको जीवन गुमाउने कुरा स्वीकार्य हुँदैन ।
तर विश्वका मुलुकहरुले कोरोना संक्रमणबाट आफ्ना नागरिकहरुको जीवन जोगाउन कस्तो भूमिका निर्वाह गरिरहेका छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
विश्वमा नै आरटी पीसीआरसँगै र्यापिड एन्टिजेन परीक्षण गर्ने भारत पहिलो मुलुक हो । सुरुवातमा र्यापिड एन्टिजेन परीक्षण गरेको भन्दै भारतको आलोचना गरिएको थियो । तर, पछि विश्व स्वास्थ्य संगठनले नै र्यापिड एन्टिजेन परीक्षणलाई स्वीकार गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २४ मार्चमा पहिलो पटक लकडाउन घोषणा गर्दा देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या ५०० मात्र थियो । प्रधानमन्त्री मोदीले उपयुक्त समयमा लकडाउनको घोषणा गरेका थिए । यदि लकडाउन ढिलो गरिएको भए वास्तवमै त्यो लकडाउनले उपयुक्तरुपमा काम गर्नसक्ने अवस्था हुँदैनथ्यो । अहिलेसम्म मुलुकभरका सम्पूर्ण अस्पतालहरु भरिसकेका हुने त्यहाँका स्वास्थ्य अधिकारीहरु बताउँछन्।
लकडाउनको समयमा १५ हजार ३६२ कोभिड(१९ स्वास्थ्य सुविधाहरु, १५ लाख ४० हजार आइसोलेसन बेड, दुई लाख ७० हजार अक्सिजनसहितका बेडहरु र ७८ हजार आईसीयू बेडहरु तयार गरिएका थिए । यही अवधिमा मुलुकभरका विभिन्न सरकारी अस्पतालहरुमा ३२ हजार ४०० भेन्टिलेटरहरु वितरण गरिएका थिए ।
भारतको संघीय सरकारले ३ करोड ७० लाख एन ९५ मास्क, एक करोड ६० लाख पीपीईहरु विभिन्न राज्य सरकारहरुलाई उपलब्ध गराएको थियो । प्रधानमन्त्री गरिब कल्याण प्याकेज अन्तर्गत सरकारले १७० लाख करोड रुपैयाँ बराबरको खाद्यान्न र महिला तथा ज्येष्ठ नागरिकहरुलाई नगद प्रदान गरिएको थियो ।
करिब ४२ करोड गरिब नागरिकरुले सरकारले उपलब्ध गराएको आर्थिक सहायता प्राप्त गरेका छन् । जसमा ६८ हजार ८२० करोड भारतीय रुपैयाँ खर्च भएको छ । १७ हजार ८९१ करोड रुपैयाँ प्रधानमन्त्री-किसान स्किम अन्तर्गत भारतका ९ करोड किसानहरुलाई उपलब्ध गराइएको थियो ।
भारत सरकारले कोरोना महामारीका समयमा आफ्नो मुलुकसहित विश्वभर संकट व्यवस्थापनका लागि ठूलो पहल गरेको छ ।
स्वास्थ्यमन्त्री हर्षबर्द्धनले २०२१ को जनवरीको कुनै पनि दिन कोरोना खोप लगाउन शुरु हुने बताएका छन्। यसले भारत सहितका अन्य तेस्रो मुलुकका नागरिक आशावादी भएका छन् । युरोप अमेरिकाको खोप एशिया तथा तेस्रो मुलुकमा आउन ढिलो हुँदा भारतीय खोप उपयुक्त विकल्प हुन सक्छ।