कोलकाता। बंगलादेशको ढाकास्थित भारतीय उच्चायोगले साहित्यमा नोबेल पुरस्कार बिजेता रवीन्द्रनाथ टेगोरको कुतिबारी संग्रहालयको पुनर्निर्माणको काम थालनी गरेको छ। यो संग्रहालय कुनै समय टेगोर परिवारको पैतृक घर थियो। भारतीय विदेश मन्त्रालय र यसका मिसनहरुले विश्वका सबै देशहरूमा भारतको ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणका साथै महान भारतीय व्यक्तित्वहरुको सम्झनालाई जोगाउन संचालन गरिरहेको अभियान अन्तर्गत यो पुननिर्माण शुरु भएको हो।
१० डिसेम्बरमा बंगलादेशस्थित भारतीय उच्चायोगको आधिकारिक ट्विटर ह्यान्डलमार्फत दिएको जानकारी अनुसार भारत सरकारले दक्षिणाञ्चलस्थित कुष्तिया जिल्लाको पोतिसार गाउँको कविगुरु रविन्द्रनाथ टेगोरको पैतृक घर कुटिबारी (कच्छिबारी) पुनर्निर्माण गर्दैछ। भारतीय दूतावासले कुटिबारीको फोटो पनि ट्वीट गरेको छ।
तीन एकडमा फैलिएको, गुरुदेव टेगोरको पैतृक हवेली र संग्रहालय भारत र बंगलादेशको साझा विरासत हो। यो घरमा टैगोरको जीवनसँग सम्बन्धित ३०० भन्दा बढी महत्त्वपूर्ण चीजहरू छन्। उनी सुत्ने ओछ्यान र उनी बसेको कुर्सी पनि यस संग्रहालयमा राखिएका छन्।
गीताञ्जलि सोहि घरमा अनुवाद गरिएको थियो। कुटिबारी त्यो ठाउँ हो, जहाँ रवीन्द्रनाथ टेगोरले १९१२ मा गीताञ्जलीलाई अंग्रेजी अनुवाद गरि विश्व प्रसिद्ध बनाएका थिए। जसका लागि उनले १० डिसेम्बर १९१३ मा साहित्यको नोबेल पुरस्कार प्राप्त गरेका थिए। यति मात्र होइन, उनले आफ्नो प्रसिद्ध उपन्यास गोरा पनि सोहि हवेलीमा रचना गरेका थिए।
रविन्द्रनाथ टेगोरलाई भारतमा जत्तिकै बंगलादेशमा पनि उच्च सम्मान गरिदै आएको छ। गुरुदेव टैगोर पहिलो व्यक्ति हुन् जसको गीत दुई देशको राष्ट्रिय गान बनेका छन्। एकातिर, भारतले टेगोरको 'जन गण मन' लाई अपनाएको छ भने अर्कोतर्फ सन् १९७१ मा पाकिस्तानबाट अलग भएपछि बंगलादेशले 'अमर शोनार बंगला' लाई राष्ट्रिय गानको रुपमा अपनाएको छ। टेगोरका गीतहरू पनि बंगलादेशको स्कूलको पाठ्यक्रममा समावेश गरिएका छन्।