काठमाडौं। नेकपा दाहाल नेपाल समूहले केन्द्रीय कमिटी बैठकले नयाँ महासचिव चयन गर्ने तयारी गरेको छ। पूर्व एमाले समूहले महासचिव पाउने निश्चित भएपछि पूर्व एमालेबाट माधव नेपाल समूहका भीम रावल तथा सुरेन्द्र पाण्डे मध्ये एकजनालाई महासचिव चयन गर्ने तयारी गरेको हो। यता प्रचण्ड पक्षका जनार्दन शर्माले पनि रहर गरेपनि उनका लागि त्यति सहज नभएको नेताहरुले बताएका छन्।
महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई साथ दिएपछि उनको स्थानमा महासचिव छान्न लागिएको हो। पार्टी एकता कायम रहेको बताउदै आएका दाहाल नेपाल समूहले केन्द्रीय कमिटी बैठकबाटै महासचिव छान्ने र अन्य केन्द्रीय सदस्यहरु थप गर्ने भएको हो।
औपचारिक रुपमा विभाजन भएको नेकपाका शीर्ष नेताहरुले आफ्नो पक्षमा नेता कार्यकर्तालाई ल्याउन भरमग्धुर प्रयास गर्न थालेपछि नेपाल पक्षले महासचिव चयनदेखि जिल्ला जिल्लाका नेताहरुको नाम संकलन थालेको छ। नेपाल पक्षले ओलीसँग रहेका केन्द्रीय सदस्यहरुको स्थानमा नेपाल पक्षीय नेताहरुलाई चयन गर्ने तयारी थालेको छ। त्यसअघि उपाध्यक्ष वामदेव गौतमसँग सुझाव लिइरहेका छन्। बुधबार रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, केशवलाल श्रेष्ठ, लक्ष्मण ज्ञवालीहरुले सल्लाह गरेका छन्।
सर्वोच्च अदालतले न्यायिक निरुपण नगरेसम्म कतैपनि नखुल्ने बताइरहेका बेला उनी निकटका नेताहरुले भेटघाट गरी सुझाव लिएका छन्। तर गौतमले केन्द्रीय कमिटी सदस्यहरुको मनोनयनबारे केही सुझाव नदिएको स्रोतको बताएको छ। ओली पक्षले ५ सय ५६ जना केन्द्रीय सदस्यहरु थप गरेर महाधिवेशन आयोजक कमिटी बनाइसकेको छ। त्यस्तै दाहाल नेपाल समूहले भने ओली पक्षमा रहेका १ सय ४० केन्द्रीय सदस्य स्थानमा मनोनयनको तयारी गरेको हो।