एजेन्सी । विश्वभरका गरिब मुलुकहरुसम्म आफ्नो बजार विस्तार गर्ने किसिमले चीनले अघि सारेको बेल्ट एण्ड रोड इन्सिएटिभ(बीआरआई) परियोजनाले चीनलाई झड्का लाग्न सुरु भएको छ ।
बीआरआई अन्तर्गत पाकिस्तानमा चीनले चाइना पाकिस्तान ईकोनोमिक करिडोर (सिप्याक) परियोजनमा काम गरिरहेको छ ।
सिप्याक अन्तर्गतको महत्वपूर्ण परियोजनाका रुपमा रहेको मेन लाईन—१ (एमएल—१, पेशावरदेखि कराचीसम्मको रेलमार्ग) परियोजनामा लगानी गर्न चीन डराएको छ ।
यो रेलमार्ग चीनको सिप्याक परियोजनाको महत्वपूर्ण रणनीति हो ।
करिब १ हजार ८ सय ७२ किलोमिटर लामो रेलमार्ग परियोजनामा चीन ८५ प्रतिशत ऋण लगानी गरिदिन तयार भएको छ ।
तर, पाकिस्तानको खस्कदो अर्थतन्त्रका कारण चीनलाई लगानी फिर्ता नपाउँने डर बढेको छ ।
पाकिस्तानले जी—२० मुलुकहरुसामु ऋण राहतका लागि आवेदन नै दिइसकेको छ ।
पाकिस्तानको यस्तो हालतपछि चीनले उक्त रेलमार्ग परियोजनमा लगानी गर्नुपूर्व पाकिस्तानसामु थप शर्तहरु राखेको छ ।
पाकिस्तानले चिनियाँ फाइदाको परियोजना भएका कारण यो रेलमार्गका लागि चीनले नै ९० प्रतिशत ऋण लगानी गरोस भन्ने चाहन्छ ।
रेलमार्गका लागि ६ अर्ब डलर ऋण १ प्रतिशत ब्याजदरमा २० वर्षसम्म तिर्ने गरी र थप १० वर्ष अनुग्राही समयावधिको माग पाकिस्तानको छ ।
तर, चीन भने १५ वर्षसम्म तिर्ने गरी र ५ वर्षको थप अनुग्राही समयावधि दिएर ८५ प्रतिशत ऋण लगानी गर्न तयार छ । चीन १ प्रतिशत ब्याजदरमा भने सहमत छैन् । अन्तिम अवस्थामा २.३८ प्रतिशतसम्म ब्याजदरमा चीनले लगानी गर्न सक्ने जनाइएको छ ।
केहीदिनअघि (डिसेम्बर १३)मा एमएल—१ फाइनान्सिंग कमिटिको बैठकमा चिनियाँ अधिकारीहरुले, यो प्रोजेक्टका लागि पाकिस्तानले थप ग्यारेन्टी र संयन्त्र प्रदान गर्नुपर्ने कुरा अघि सारेको बताइएको छ ।
सन् २०२१ को जनवरीबाट काम सुरु हुने भनिएको यो परियोजनाको वित्तिय व्यवस्थापन सम्झौता हुन नसक्दा ढिलाई हुने भएको छ ।
यसरी बीआरआई अन्तर्गतको एक महत्वपूर्ण हिस्सा सिप्याकमा आफुले बनाएका रणनीति अनुरुप चल्न नसक्ने अवस्था आएपछि चीनलाई झड्का लागेको छ ।
यतिमात्रै हैन्, सिप्याकले पाकिस्तानमा चिनियाँ स्वार्थ पूरा गर्ने काम मात्रै गरिरहेको भन्दै पाकिस्तानको बाल्टिस्तान र सिन्धका नागरिकहरुले विरोध गर्दै आएका छन् ।
यी दुवै क्षेत्रका नागरिकहरुले चिनियाँ परियोजनामाथि आक्रमण गर्न अनेकौं रणनीतिहरु बनाइरहेका छन् । यसले पनि पछल्लो समय चीनलाई सिप्याकको प्रतिफल डरलाग्दो हुने संकेत गराएको छ ।
चीनले सिप्याक सफल पारेमा मध्यपूर्व, दक्षिण एसिया र अफ्रिका एवं युरोपसम्म पारवहनका लागि ठूलो सहजता पाउँनेछ ।
त्यहाँको बजारमा स्थानीय उत्पादनलाई पाखा लगाउँदै चीनले आफ्नो बजार बिस्तार गर्नसक्नेछ ।
यद्यपि कोरोना भाइरसको माहामारीले अब, चीनलाई सिप्याक मात्रै हैन्, बीआरआई प्राजेक्ट सफल पार्न समेत ठूलो चुनौती हुनेदेखिएको छ ।