काठमाडौं। भारतका लागि नेपाली राजदुत निलम्बर आचार्यले भारतका थलसेना प्रमुख मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका छन् । भेटकाक्रममा बहुपक्षीय हितका विषयमा कुराकानी भएको भारतीय सेनाले जनाएको छ ।
नेपाली सेनाको मानार्थ महारथीको उपाधी लिन हालै नेपाल आएका नरवणेको त्यसयता नेपाली अधिकारीहरुसँग भएको यो पहिलो भेट हो । भेटको बिषयलाई भारतीय सेनाले आफ्नो ट्वीटर ह्याण्डलबाट जानकारी गराएको छ । सोहि ट्वीटमा प्रतिक्रिया जनाउँदै राजदुत आचार्यले पनि भारतीय सेनाध्यक्ष नरवणेसँगको भेट राम्रो र सुखद रहेको प्रतिक्रिया दिएका छन् ।
भारतीय सेना प्रमुख नरवणेले नेपालको औपचारिक भ्रमणका औपचारिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई सैन्य एवं सुरक्षाका क्षेत्रमा समेत सुदृढ गर्न मद्धत गरेको सुरक्षा मामिलाका विज्ञहरुले बताउँदै आएका छन् । भारतमा अहिले पनि नेपालीहरु गोर्खा सैनिकमा भर्ती हुँदै आएका छन् भने हजारौं नेपालीहरु गोर्खा सैनकिबाट सेना निवृत भएका छन् । भेटमा भारतीय सेनामा कार्यरत तथा सेना निवृत गोर्खा सैनिकहरुको बारेमा समेत चर्चा भएको थियो ।
नरवणेको भ्रमण लगत्तै भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले पनि नेपालको औपचारिक भ्रमण गरेका थिए। पछिल्लो समय बाक्लिएको भेटले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने अपेक्षा कुटनीतिक मामिलाका जानकारहरु बताउँछन्।