काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेरबहादुर तामाङ्गले कसैले माइकमा फुकेर पार्टी अवैधानिक भनेर अवैधानिक नहुने स्पष्ट पारेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा कानून मन्त्री बनेका ओलीले प्रचण्ड–नेपाल पक्षलाई अवैधानिक भनेसँगै पूर्वमन्त्री तामाङ्गले ओलीमाथि आक्रोश पोखेका हुन् ।
उनले कम्युनिष्ट पार्टीलाई कसैले अवैधानिक भन्छ भने वैधानिकताका लागि भिड्न तयार रहेको बताएका छन् । उनले नेताहरुका ह्याँकुला छामिसकेकाले कहाँ कसरी अगाडि बढ्नुपर्छ त्यो पनि राम्रैसँग थाहा भएको भन्दै ओली पक्षलाई चेतावनी दिएका छन् ।
नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा बोल्दै नेता तामाङ्गले न्यायपालिका र संवैधानिक निकायहरुले पनि गलत व्याख्या गरी कसैको पक्ष र विपक्षमा निर्णय दिने हो भने त्यसको प्रतिकार गर्न पनि जानेको उनले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी गठन गर्दा २००६ सालमा पाँच जना नेताले गठन गरेको र त्यहाँ वैधानिकताको प्रमाणित गर्ने कोही नभएको भन्दै नेता तामाङ्गले कम्युनिष्ट पार्टीले आफ्नो वैधानिकताको प्रमाण जनताले मत दिएर देखाइदिने बताए ।
ओलीलाई चेतावनी दिँदै उनले असंवैधानिक तरिकाले संसद विघटन गरेर गल्ती गरेको भन्दै सडक आन्दोलनबाट संसद पुनस्र्थापना गराएरै छाड्ने बताए ।
तामाङ्गले चुनावबाट पछि नहट्ने बताउँदै ओलीले दुई तिहाईसहित जित्छौं भनेर ढोङ्ग रचे पनि आफूहरु पनि सशक्त रुपमै प्रस्तुत हुने बताए ।
तामाङ्ग प्रचण्ड–नेपाल पक्षको नेकपामा सहभागी छन् । उनकी धर्मपत्नी उषाकला राईले त ओलीले बनाएको केन्द्रीय सदस्यको पद नै त्यागेकी छिन् ।