काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेटमा अब १० टिमबीच भिडन्त हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को बिहीबार बसेको ८९ औं साधारण सभाले आईपीएलमा दुई टिम थपेर १० टिम बनाउने निर्णय भएको हो ।
बैठकले सन् २०२१ को प्रतियोगितामा ८ टिम नै हुने र सन् २०२२ देखि १० टिम बनाउने निर्णय गरेको हो । बिहीबार अहमदाबादको मोटेरा स्टेडियममा भएको बैठकले बीसीसीआई अध्यक्ष सौरभ गांगुलीलाई आईसीसी बोर्डमा निर्देशक बनिरहने फैसलासमेत गरेको छ ।
त्यसैगरी राजीव शुक्लालाई बीसीसीआईको औपचारिक रुपले उपाध्यक्ष नियुक्त गरिएको छ । त्यस्तै पूर्व क्रिकेटर चेतन शर्मालाई बीसीसीआईको सिनियर राष्ट्रिय छनोट कमिटीका प्रमुख छनोटकर्ता बनाइएको छ । चयन समितिमा अभय कुरुविला र देवाशिक्ष माहन्ती पनि सदस्य रहेका छन् ।