काठमाडौं । असंवैधानिक र अप्रजातान्त्रिक बनेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरे पनि उनले आफ्नो अधिनायकवादी चरित्र देखाउन छाडेका छैनन् । उनले एक नेपाली टेलिभिजनसँगको अन्तर्वार्तामा आफू बाहेक सबै गलत भएको दावी त गरे नै हुँदाहुँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत पार्टी अध्यक्ष बन्न सुझाएका छन् ।
कांग्रेसले सडक संघर्षसँगै निर्वाचनको तयारीको पनि योजना बनाइरहँदा सडक संघर्ष मात्र गर्नका लागि पार्टीलाई दवाव दिएका रामचन्द्र पौडेललाई ब्यङ्ग्य गर्दै ओलीले पार्टी सभापति बन्न चुनौती दिएका हुन् ।
बुधबार ओलीले पौडेलमाथि कटाक्ष गरेपछि पौडेलले बिहीबार पनि चुनावदेखि आफू नडराउने र हिम्मत भए आफूसँगै चुनाव लड्न पनि चुनौती दिएका छन् ।
पार्टी केन्द्रीय कार्यसमितिको जारी बैठकका क्रममा केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पौडेलले आफू केपी ओलीसँगै चुनाव लड्न तयार भएको बताएका हुन् ।
पौडेलले चुनाव हारेको र सभापतिमा पनि पराजित भएको सन्दर्भ कोट्याउँदै ओलीले चुनाव जितेर सभापति बनेर देखाउन चुनौती दिएसँगै आक्रोशित भएका पौडेलले पनि प्रतिनिधिसभाको निर्वाचनमा आफूसँग प्रतिस्पर्धा गर्न चुनौती दिएका हुन् ।