काठमाडौं। संविधानमाथी षड्यन्त्रपूर्वक प्रहार गर्दै संसद विघटन गरिएको भन्दै पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनाल सडकमा निस्किएका छन् ।
तीनै जना पूर्व प्रधानमन्त्रीहरु माइतीघर मण्डलाबाट आफ्ना दलका केन्द्रिय सदस्यहरुको समूहसहित संसद विघटन बदर हुनु पर्ने र निर्वाचन आयोगले आफ्नो पक्षमा रहेको केन्द्रिय समितिलाई बैधानिकता दिनु पर्ने भन्दै निर्वाचन आयोग तर्फ अघि बढेका हुन् ।
सो क्रममा उनीहरुलाई प्रहरीले जमलमा रोकेपछि शीर्ष तहका नेताहरु मात्र आयोग गएका छन् भने पार्टीका कार्यकर्ताहरुले भने सरकार बिरुद्ध नाराबाजी गरिरहेका छन् ।
नाराबाजीका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा शैलीमा आलोचना गरिएको छ । सडकमा उत्रिएका नेकपा नेता कार्यकर्ताहरुले ‘केपी तिम्रो पाराले दुःख पाए साराले’ भन्दै नाराबाजी गरिरहेका छन् ।
प्रचण्ड– माधव समूहले निर्वाचन आयोगमा पार्टीका आफू तर्फ रहेका २ सय ८७ जना केन्द्रिय सदस्यहरुको हस्ताक्षर बुझाउँदै छ । साथै आफूहरुलाई आधिकारिकता दिन समेत यो समूहले आयोगलाई अनुरोध गर्दै छ ।
आयोगमा यतिबेला अध्यक्ष प्रचण्ड र नेपाल सहित, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, भीम रावल सहितका नेताहरु पुगिसकेका छन ।
सरकारले जमल देखि केशरमहलसम्म निषेधित क्षेत्र तोकेको छ । त्यहाँ रोकिएका केन्द्रिय सदस्यहरु भने हस्ताक्षर बुझाउन जानलागेकाले जान दिनु पर्ने अडान लिंदै आइरहेका छन ।
सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले त्यहाँ माइकिङ गर्दै केन्द्रिय सदस्यहरुलाई रोकिरहेको छ ।