दमक । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका-८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ-३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे१क १४१ स्कुल बससँग ठोक्किँदा मे९प ५५६६ नंको मोटरसाइकलमा सवार राजवंशीको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका राजवंशीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलका चालक गौरीगञ्ज गाउँपालिका-३ का २८ वर्षीय दिनेश्वर राजवंशीको बायाँ खुट्टा भाँच्चिएको छ ।
हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनामा संलग्न बस र कन्काइ नगरपालिका-३ बस्ने अन्दाजी ४८ वर्षीय बस चालक तिलक बुढाथोकीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।