काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा कटौती गरेको छ । त्रिविले हिउँदे बिदा यही पुस १५ देखि २३ दिन र वर्षे बिदा जेठ १५ देखि २२ दिन दिँदै आएको थियो ।
त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरस (कोभिड-१९) को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो ।
त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड-१९ का कारणले पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरिएको जानकारी दिएका छन ।
रजिष्ट्रार डा दाहालका अनुसार अहिले धेरै क्याम्पसले स्थानीय तहको स्वीकृत र स्वास्थ्यको मापदण्ड पूरा गरे भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गरिरहेका छन् ।
कोभिड-१९ को कारणले गत २०७६ चैत ६ गतेदेखि कुनै परीक्षा र पठाइ सञ्चालन भएको थिएन । यस्तै गत चैत ६ गतेदेखि रोकिएका त्रिविका परीक्षा पनि सञ्चालन भएका छन् ।