रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिमा सडक निर्माणका विषयमा विवाद भइ झडप हुँदा ४ जना घाइते भएका छन् । नगरपालिका ४ मेलइनाउलिमा नेकपा कार्यकर्ताको आक्रमणबाट चार जना स्थानीय घाइते भएका छन् ।
२०६५ सालमा बनाएको सडकलाई बन्द गरेर अर्को ठाउँमा सडक निर्माण गर्न खोज्दा झडप भएको बताइएको छ । साविकको ठाउँबाटै सडक सञ्चालन गर्नुपर्नेमा नगरि नयाँ ठाउँमा सडक मर्मत गर्न खोज्दा त्यसको बिरोध गरेका नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेको स्थानियहरुले बताएका छन् । आक्रमणमा परि सोहि वडाका ४२ वर्षका शंकर जैसी, कृष्ण प्रसाद जैसी, सुरेश शर्मा र बहादुर जैसी घाइते भएका छन्।घाइते मध्ये गम्भीर घाइते शंकरलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
अन्य घाइतेको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । स्थानीयबासीले दिएको जानकारी अनुसार कुटपिटमा नेकपाका स्थानीय कार्यकर्ता समीर केसी, नवीन बुढाथोकी, रामप्रसाद आचार्य, टिकाराम जैसीलगायतका युवाको नेतृत्वमा आएका युवाहरु स्थानीयलाई आक्रमण गरेको स्थानीय खेमराज शर्माले जानकारी दिए ।
निर्माण भएको सडकलाई बन्द गरेर अर्को सडक बनाउने बिषयमा विगत देखि नै विवाद हुदै आएको थियो । उक्त विवाद अदालतसम्म पुगेर अदालतले पनि पुरानै बाटो प्रयोग गर्न र नयाँ ठाउँमा सडक निर्माण कार्य रोक्न आदेश दिएको थियो । तर नगरपालिकाको निर्देशनमा आज सडक निर्माण गर्न सुरु भएपछि स्थानीयले विरोध गरेका थिए ।