काठमाडौं। चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आएको एक महिना नवित्दै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय बिभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएको छ। चिनियाँ राजदूतावासले सो टोली आइतबार आउने जानकारी राष्ट्रपतिदेखि सरकारी उच्च अधिकारीहरुलाई गराएको छ। चिनियाँ राजदुत होउ यान्छीको प्रयास पछि पनि नेकपाको विवाद मिल्ने भन्दा पार्टी नै औपचारीक रुपमा फुट्ने अवस्थामा पुगेर नेपालको राजनीतिक घटनाक्रम उथलपुथल भएपछि यहाँको अवस्था स्थलगत रुपमै बुझ्न प्रतिनिधि मण्डल नेपाल आउन लागेको स्रोतको दावी छ।
मंसिर १४ गते चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले नेपाल भ्रमण गरेका थिए। चिनियाँ उच्च अधिकारीको सो भ्रमणपछि चिनियाँ कम्युनिष्ट पार्टीको टोलीनै नेपाल आउन लागेको हो। सो टोलीले विभाजित समूहका दुवै पक्षसँग भेटघाट र कुराकानी गर्ने स्रोतको दावी छ। सो टोली आउनु अघि चिनियाँ राजदूत हाउ यान्छीले विहिबार राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, तथा शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख कृष्णबहादुर महारासँग भेटघाट गरेकी थिइन। त्यस्तै वर्षमान पुन, जनार्दन शर्मा, योगेश भट्टराईलाई पनि राजदूत यान्छीले भेटघाट गरेकी छिन्।
राष्ट्रपतिदेखि सबै नेताहरुसँग भेटघाट गरेकी राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्न चाहेकी थिइन। तर ओलीले पार्टीको बैठक जारी रहेको कारण देखाउदै राजदूत यान्छीसँगको भेटघाटलाई अस्वीकार गरेका थिए। प्रधानमन्त्री ओलीसँग यान्छीको भेटघाट हुन नसकेपछि यान्छीले आफ्नो चिनियाँ माथिल्लो निकायमा त्यही रिपोर्ट गरेको स्रोतले जनाएको छ। यान्छीको रिपार्ट लगत्तै चिनियाँ पक्षले नेपालको राजनीतिमा आएको उत्तारचढावलाई प्राथमिकतामा राखेर स्थलगत अध्ययन गर्ने र नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीले नेपालको कम्युनिष्ट पार्टी विभाजित नहोस भन्ने चाहना राखेपनि अहिले सत्तारुढ दल विभाजित भैसकेको छ। एक वर्ष अघि मात्रै नेकपासँग सहकार्य गर्ने प्रस्ताव गरेको चिनियाँ कम्युनिष्ट पार्टीले अब विभाजित भएपछि कुन नेकपासँग सहकार्य गर्ने हो भन्ने बारेमा अन्यौल रहेको छ।
गत वर्षको असोजमा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको थियो। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका थिए। दुई देशको उच्चस्तरीय भ्रमण गर्ने, कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धी गर्ने, पार्टी–पार्टी अनुभव आधारित सहयोग आदान–प्रदान गर्ने, युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान–प्रदान गर्ने, जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि गर्ने, विचार–सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन गर्ने विषयमा समझदारी भएको थियो।