काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार तथा हेरफेर गरेपछि शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाइयो। संसद विघटनप्रति असहमति जनाइरहेका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा शपथ कार्यक्रममा टुप्लुक पुगे ।
सपथ समारोहमा प्रधानमन्त्रीको ओलीको दायाँतर्फ राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना उभिएका थिए । बायाँतर्फ विघटन गरिएको प्रतिनिधि सभाका सभामुख सापकोटा उदास मुद्रामा उभिएका थिए ।
संसद विघटनको विरुद्धमा सडमा उत्रिएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुको कित्तामा उभिएका सभामुख सापकोटा सपथ ग्रहण समारोहमा किन पुगे भनेर चौतर्फी खोजीनीति भइरहेको छ । शपथ समारोहमा उभिरहेको सापकोटाको तस्वीर बाहिरिएपछि संसद भंग गरिएपछि पनि अग्नि सापकोटा कसरी शीतल निवास पुगे भनेर धेरैलाई आश्र्चर्य लागेको छ।
तर यसको जवाफ स्पष्ट छ । संविधानको धारा ९१ मा सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था छ। सो धाराको उपधारा ६ मा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त अवस्थाबारे उल्लेख छ।
जसअनुसार प्रतिनिधिसभा विघटन भएपनि आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् भन्ने व्यवस्था गरिएको छ।
सोही संवैधानिक प्रावधान अनुसार शुक्रबार भएको मन्त्रीहरुको सपथ समारोहमा सभामुख अग्नि सापकोटाले सहभागिता जनाएको उनको सचिबालयले जनाएको छ ।