काठमाडौं । भारतमा गणतन्त्र दिवसको परेडमा सहभागी हुन दिल्ली पुगेका एक सय ५० जना सेनाका जवानलाई कोरोना भाइरस लागेको छ । २६ जनवरीको गणतन्त्र दिवस तथा आर्मी डे को परेडमा सहभागी हुनका लागि दिल्ली आएका १५० जनान संक्रमित भएका हुन् ।
भारतभरबाट करिब २ हजार जवान गत नोभेम्बरको अन्तिममा दिल्ली पुगेका थिए । रिहर्सलपछि गणतन्त्र दिवस तथा आर्मी डे मा सहभागी हुनुपर्ने उनीहरुलाई रिहर्सलकै क्रममा कोरोना लागेको हो ।
सबैको कोरोना टेष्ट गराइएकामा १५० संक्रमित पाइएका हुन् । जसको रिपोर्ट नेगेटिभ आएको छ उनीहरुलाई सेफ बबलमा राखिएको छ । गणतन्त्र दिवसअघि जनवरी १५ मा सेनाले आर्मी डे मनाउँदै आएको छ ।
संक्रमित जवानहरु चिकित्सकको निगरानीमा क्वारेन्टिनमा बसिरहेका छन् ।
यसपालिको गणतन्त्र दिवसमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन प्रमुख अतिथि हुने भएका छन् ।