काठमाडौं । बेलायतमा हालै देखा परेको कोरोना भाइरसको नयाँ स्ट्रेन विश्वव्यापी रुपमा फैलिन थालेको छ । युरोपेली मुलुकहरुसँगै यसको नयाँ स्ट्रेन एसियामा पनि फैलिएको हो । नयाँ प्रकारको यो भाइरस थुप्रै युरोपेली मुलुकहरुसँगै जापान र क्यानाडामा पनि देखिन थालेको बीबीसीले लेखेको छ ।
बेलायतबा आएकाहरुको यो स्ट्रेन स्पेन, स्वीट्जरल्याण्ड, स्वीडेन र फ्रान्समा पनि देखा परेको हो । क्यानाडाको ओन्टारियोमा एक जोडीमा देखा परेको छ । जापानले त सोमबारदेखि विदेशीलाई जापान आउन एक महिनाका लागि प्रतिबन्ध नै लगाएको छ ।
जापानमा बेलायतबाट आएका पाँच जनामा त्यो स्ट्रेन फेला परेको हो । जापानले थप दुई स्थानीयमा पनि यो रोग सरेको जनाएको छ ।
कतिपय युरोपियन युनियनसँग जोडिएका राष्ट्रहरुले भ्याक्सिनसमेत लगाउन थालिसकेका छन् ।
यो नयाँ स्ट्रेन अष्ट्रेलिया, डेनमार्क, जर्मनी, इटाली र नेदरल्यान्डस्मा समेत फैलिसकेको छ ।