काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा जाँदैछन् । उनी पूर्वरानी कोमलसहित आइतबार साँझ झापा जान लागेका हुन् ।
उनी बुद्ध एयरलाइन्सबाट झापा जान लागेको उनी निकट स्रोतले बताएको छ । उनी करिब एक महिना झापा बस्नेछन् ।
सडकमा राजा आउ देश बचाउको नारा लागिरहेका बेलामा शाह भने जाडो छल्न झापा जान लागेका हुन् । उनले त्यहाँ रहँदा विशेष भेटघाट गर्न सक्ने स्रोत बताउँछ ।
यद्यपि अहिलेसम्म कुनै पनि कार्यतालिका भने अहिले तय भइनसकेको उनी निकट स्रोतले जनाएको छ ।
पूर्वराजाको परिवारका बुहारी पूर्वयुवराज्ञी हिमानी शाह र नाति पूर्वनवयुवराज हृदयेन्द्र शाह भने एक हप्तापछि झापा जाने कार्यक्रम रहेको बताइएको छ ।
पूर्व युवराज पारस भने आफ्नै हालतमा छुट्टै रहने छन् । दुई नातिनीहरु भने हङकङमै उच्च शिक्षा अध्ययन गरिरहेका छन् । उनीहरु कोरोना भाइरसको लकडाउनदेखि उतै छन् ।
पूर्व राजा झापा जाँदै गर्दा यता प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्दै संसद विघटन गरेका छन् ।
यो परिस्थितिमा राजावादीहरुले नारा घन्काइरहँदा राजसंस्थाको पनि केही स्पेश रहन्छ कि भन्ने आशंका जनमानसमा पलाएको छ । यद्यपि नेताहरु भने राजसंस्था फर्कने कुनै अवस्था नै नभएको दावी गर्छन् ।
राप्रपा भने हिन्दूराष्ट्र र राजसंस्था पुनस्र्थापनाको नारा लिएर सडकमा गएको छ ।