arrow

चिनियाँ विदेश उपमन्त्रीको नेपाल भ्रमण, परराष्ट्रलाई छैन जानकारी

पार्टीगत स्वार्थमा चीन, ओलीलाई फकाउने चिनियाँ अभ्यास

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
china-Guo-Yezhou.jpg

काठमाडौं । आइतबार चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)का विदेश विभागका उपमन्त्री गुओ येचौ नेपाल आउँदै छन् । यद्यपि यो विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी छैन ।

सरकारको नेतृत्व गरिरहेको चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीले नेपालको भ्रमण गरिरहँदा परराष्ट्र मन्त्रालयसँग भने कुनै सहकार्य नगरेको मन्त्रालयका एक अधिकारीले बताएकी छिन् ।

प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गराएपछि नेपालमा चिनियाँ सक्रियता निकै बढेको छ।

नेकपासँग भाइचाराको सम्बन्ध रहेको सीसीपीले नेपालमा विकसित पछिल्ला घटनाक्रमपछि विदेश विभागका वरिष्ठ उपमन्त्रीलाई नै नेपाल पठाएको हो ।

उपमन्त्री गुओ उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउँदा परराष्ट्र मन्त्रालय जानकार नहुनुले चीन नेपालमा पार्टीगत रुपमा बढी केन्द्रित रहेको देखिन्छ ।

गुओ नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल आउँने विषयमा परराष्ट्र मन्त्रालयसँग कुनै किसिमको सहकार्य नभएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

उनले भनिन्, ‘आज नेपाल भ्रमणमा आउँने कुरा भएपनि मन्त्रालयसँग कुनै किसिमको सहकार्य एवं समन्वय भएको छैन् ।’

उपमन्त्री गुओको टोली ४ दिनका लागि नेपालमा रहने र यसबीचमा ओली, प्रचण्ड एवं नेपाललगायतका नेकपाका शिर्ष नेताहरुसँग भेटवार्ता गर्ने बुझिएको छ ।

गुओ नेतृत्वको प्रतिनिधिमण्डलले नेकपामा एकता गराउँन, साथ-साथै, पार्टी फुटको अवस्थामा पुग्नु र संसद विघटन हुनु पछाडिका रहस्यहरु पनि खोतल्ने अनुमान गरिएको छ । यी अधिकारीबाट चीन पुग्ने अध्ययनले नेकपालाई कसरी एकजुट बनाउँन सकिन्छ भन्ने कसरत गर्ने देखिन्छ ।

चीनले खासगरी आफ्नो व्यापारीक एजेण्डाको परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजना नेपालमा सफल पार्न नेकपाको सरकार रहोस् भन्ने चाहन्छ ।

तर, संसद विघटनपछि ओली र प्रचण्ड-नेपाल दुई समुहमा विभाजित भएपछि चीनलाई आफ्नो एजेण्डा पूरा गर्न अप्ठेरो हुने डर छ । त्यसकारण चिनियाँ अधिकारी पार्टी एकजुट गराउनका लागि पार्टीगत किसिमले नै नेपालमा आउँन लागेको देखिन्छ ।

‘कुनै पनि देशका अधिकारी नेपाल आउँदा हुने नियमति कार्यक्रम एवं योजनाहरु छैन्,’ परराष्ट्रका अधिकारीले भनिन्, ‘सुरक्षा, स्वागत एवं कुनै कार्यतालिका नै छैन, हामीसँग कुने समन्वय छैन ।’

मन्त्रालयसँग समन्वय नहुँदा उपमन्त्री गुओ नेपालमा रहँदाको सबै कार्यतालिका एवं व्यवस्थापन चिनियाँ राजदुतावासले नै गर्ने देखिन्छ ।

ओलीलाई फकाउने चिनियाँ अभ्यास
नेकपामा पूर्व एमाले पक्ष(नेपाल) र पूर्व माओवादी(प्रचण्ड) मिलेर ओली एक्लिए पनि कुनै पनि सहमतिमा नआएपछि ओलीको दम्भले पार्टी फुट्ने निश्चित देखिएको छ ।

प्रचण्ड नेपालसमुहका मुद्दालाई अटेरी गर्दै ओलीले एक्लौटि निर्णय गरिरहँदा विवाद झनै बढेको थियो । पटक-पटक चिनियाँ राजदुत यान्छीले ओली लगायतसँग भेट गरिरहँदा पनि विवाद सल्टिन नसकेको हो ।

पुस ५ गते संसद विघटन लगत्तै पनि यान्छीले पार्टीभित्र सहमतिका लागि सक्रियता बढाएकी थिइन् । गत साताको मंगलबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी थिइन् । त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन् ।

यसै क्रममा यान्छीले ओलीसँग समेत भेट्न खोज्दा पनि प्रधानमन्त्रीले भेट अस्वीकार गरेको बताइन्छ । यान्छीले प्रधानमन्त्रीसँग भेट गर्न नसक्दा चिनियाँ कम्युनिष्ट पार्टीले ओलीलाई फकाउन विदेश विभागका अधिकारी नै पठाएको अनुमान छ ।



लोकप्रिय समाचार
नयाँ