arrow

पुनर्स्थापनाको एजेण्डबाट पछि हट्न जसपामा दोश्रो तहका नेताहरुको दबाब

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १२ आइतबार
Sarbendra_Nath_Shukla.jpg

काठमाडौं । जनता समाजवादी पार्टीका दोश्रो तहका केही नेताहरुले संसद पुनर्स्थापनालाई पहिलो एजेण्डा बनाइ आन्दोलनमा नउत्रन पार्टी नेतृत्वलाई दबाब  दिएका छन् । यद्यपि जसपा अहिले संसद् विघटनविरुद्ध आन्दोलनमा लागेको छ ।

गत वैशाखमा तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीवीच एकीकरण भइ जसपा निर्माण गरिएको थियो । एकीकरण पछि जसपा संसद्को तेश्रो ठूलो दल भएको छ । यो बेला चुनाव भएमा जसपाले अहिलेको भन्दा दोब्बर सिट ल्याउने अनुमान जसपाका केही नेताहरुको छ । 

संसद् पुनर्स्थापना नभइ चुनावको तयारीमा जसपाले ध्यान केन्द्रित गर्नु पर्छ भन्ने लाइनको अगुवाई तत्कालिन राजपाका वरिष्ठ उपाध्यक्ष तथा जसपाका कार्यकारिणी सदस्य सर्बेन्द्रनाथ शुक्लाले गरिरहेका छन् । उनलाई तत्कालिन राजपाका महासचिव तथा जसपाका कार्यकारिणी सदस्य राजिव झा लगायतका युवा नेताहरुले साथ दिएका छन् । शुक्लाले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई समेत भेटेर यस्तो सुझाव दिएका हुन् । ठाकुर समेत यो बिषयमा कन्भिस भएको शुक्लाले दावी गरे । ‘संसद् पुनर्स्थापनाको एजेण्डा बनाइ आन्दोलनमा नजाऔ । पुनर्स्थापनाको विषय सर्वोच्चलाई छाडौ । हामी चुनावको तयारीमा जुटौं’ शुक्लाले भने, ‘यो कुरा मैले पार्टी अध्यक्ष ठाकुरजीलाई भेटेर पनि भने । मेरो कुराबाट उहाँ कन्भिस हुनु भएको छ ।’ २०६२-६३सालको परिस्थिति झै अहिलेको अवस्था नभएको भन्दै शुक्लाले भने,‘त्यती बेला र अहिलेको परिस्थिति धेरै फरक छ । बरु अहिले संविधानमा देखिएको त्रुटी सच्च्याउन माग गर्दै आन्दोलनमा जाऔं भन्ने मेरो भनाई हो।’

पुनर्स्थापनाको विषयमा सर्वोच्चले जे निर्णय गर्छ, त्यसलाई पार्टीले स्विकार गर्नुपर्ने उनले बताए । ‘हामीले लोकतन्त्रको कुरा गर्छौ । लोकतन्त्रमा कानुनी राज्यलाई सबैले स्विकार गर्नुपर्छ । त्यसैले सर्वोच्चले जे निर्णय गर्छ । त्यसलाई हामीले स्विकार गरौं’ शुक्लाले भने । यस्तै भनाइ झाको पनि छ । उनले भने, ‘पार्टीले संसद् पुनर्स्थापनाको एजेण्डालाई प्राथमिकता दिएको छ तर मेरो धारणा पुनर्स्थापनाभन्दा चुनावको तयारीमा लागौं भन्ने हो’ झाले भने,‘यसबेला चुनाव भयो भने पार्टीले पनि पहिलेकोभन्दा दोब्बर सिट ल्याउँछ।’

सरकारले संसद विघटनको घोषणा गरे वित्तिकै जसपाले आन्दोलन सुरु गरेको छ । संसद विघटनलाई जसपालाई अलोकतान्त्रिक र निरुकुंशताको पराकाष्ठ भनेको छ भने पुनर्स्थापनाकोलागि दबाब दिन पार्टीले आन्दोलन घोषणा गरेको छ । जस अनुसार जसपाले शनिबार देशभर मसाल जुलुस निकालेको थियो भने शुक्रबार प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएको थियो । यसैगरी १३गते काठमाडौमा प्रदर्शन गर्ने घोषणा गरेको छ । जसपा केही नेताहरु भने यही मौकामा केपी ओली सरकारले गणतन्त्र र संघीयता समाप्त पार्ने खेलमा लागेको आशंका गर्छन् । ‘यही बेला केपी ओलीले गणतन्त्र र संघीयता समाप्त पार्न खोज्दैछन भन्ने हाम्रो बुझाई हो । उनको भित्री चाहना न गणतन्त्र हो, न संघीयता हो’ जसपाका अर्का कार्यकारिणी सदस्य रामसहाय यादवले भने, ‘त्यसैले गणतन्त्र र संघीयता जोगाउन पार्टीले आन्दोलनको घोषणा गरेको हो ।’



लोकप्रिय समाचार
नयाँ