काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूह देशव्यापी आन्दोलनको तयारीमा जुटेको छ । त्यसका लागि आज दिनभर प्रचण्ड–नेपाल पक्षीयले ७७ वटै जिल्लामा कार्यकर्ता भेला गरेको छ । काठमाडौको पेरिसडाडामा ७० जिल्लाका सम्पर्क मञ्चहरुको भेला आयोजना गरिएको हो । पार्टी विभाजनको औचित्य पुष्टि गर्न र ओली सरकारलाई दबाब दिन काठमाडौ लगायत देशभरका कार्यकर्ताहरुको भेला आयोजना गरिएको छ ।
नेकपाले भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गरेको जनाएको छ । प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाएपछि सडक संघर्षका लागि देशभर कार्यकर्ता परिचालन गर्न लागिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । आन्दोलनको नेतृत्व पनि उनै श्रेष्ठले गर्ने भएका छन् ।
शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा १४ गते देशभर प्रदर्शन गर्ने बताइए अनुसार तयारीमा जुटेको हो। १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने प्रचण्ड नेपाल पक्षको योजना छ । कोरोना संक्रमणकै क्रममा उनीहरुले मानिसहरुलाई सडकमा उतार्न लागेका हुन् । ‘हामी धेरै भन्दा धेरै संख्यामा सडकमा आउनेछौ’, आन्दोलन तयारी संयोजक रहेका पार्टी प्रवक्ता श्रेष्ठले भने । ५० हजार जनालाई प्रदर्शनमा उतार्ने लक्ष्य छ । युवाहरुले १३ गते पनि काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछन् । १३ गतेको प्रदर्शन साँझ ५ मसाल जुलुशको आयोजना गर्न लागिएको हो । १४ गते ११ बजे काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छ । यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवा विद्यार्थीहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आन्दोलनमा शीर्ष नेताहरुपनि सहभागी हुने बताइएको छ ।
शुक्रबार विहान भएको आन्दोलनमा प्रचण्ड र माधव नेपाल लगायतका नेताहरु सहभागी भएका थिए । आन्दोलनलाई शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । आइतवार दिउसो पेरिसडाडामा पनि स्थायी कमिटी सदस्यहरुले सम्बोधन गरेका थिए।