नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका हुँदै दिनहुँ भारततर्फ सुर्तीजन्य पदार्थ मेघाश्री गुटखा र खुकुरी चुरोटको तस्करी हुने गरेको पाइएको छ। मेघाश्री गुट्खा र चुरोट नेपालगन्ज बाइपासमा रहेको तरुण गौतमद्वारा सन्चालित आशीतोष सप्लायर्स र नवीन ट्रेड लिंकबाट लोड गरि नरैनापुर हुँदै भारततर्फ पठाईने गरेको पाइएको हो ।
राप्तीपारी नरैनापुरमा बिक्री वितरण गर्ने भनेपनि उक्त डिलरले नेपालगन्जबाट धमाधम सेतो बोलेरो जिपमा मेघाश्री र चुरोट तस्करी गराउदै आएको खुलासा भएको हो। गौतमका खास पात्र दाङ घर भई हाल नेपालगन्ज बस्दै आएका झनक बहादुर बस्नेतले उक्त डिलरबाट मेघाश्री र खुकुरी चुरोट त्यसतर्फ लैजान सहज बनाईदिदै आएको स्रोतले जानकारी दिएको छ।
त्यस्तै मेघाश्री र खुकुरी चुरोट भारत तस्करी गराउनका लागि गौतमले सशस्त्र प्रहरीका पुर्व वरिष्ठ हवल्दार श्याम चौधरीलाई कर्मचारी नियुक्त गरि परिचालन गरेका छन्। गौतमले परिचालन गरेका चौधरीले नरैनापुरको गंगापुर घर भएका चिडडु र भारत घर भएका छोटु खानलाई जिम्मेवारी दिदै मेघाश्री र खुकुरी चुरोट तस्करी गराउदै आएको त्यहाँका एक स्थानीयले बताए।
यस्तै गौतमद्वारा मेघाश्री तस्करी गराउन परिचालित चौधरीले नरैनापुर गाउँपालिकाकै बब्लु,रहिस,अरहम लगायतलाई आर्थिक प्रलोभनमा पारी दिनहुँ मेघाश्री तस्करी गराउँदै आएका छन् । सुरक्षा निकायका पुर्व कर्मचारी एबम बाँकेमा घुमुवा समेत बसेका चौधरीले सुरक्षा निकायका नरैनापुरका प्रमुखहरुलाई आफ्नो हातमा लिदै मेघाश्री र खुकुरी चुरोट तस्करी गराउँदै आएका छन् ।
डिलर संचालक गौतमले नरैनापुरबाट मात्रै मासिक करिब १ करोडको मेघाश्री र खुकुरी चुरोट भारततर्फ तस्करी गराउदै आएको स्रोतको दावी छ । सुरक्षा निकायसंग गतिलै सेटिङका कारण चौधरीले दिनहुँ तस्करी गराउने मेघाश्री र खुकुरी चुरोट बरामद नभएको पाइएको छ । स्मरण रहोस्: उनले लगेको मेघाश्री र खुकुरी चुरोटलाई भने एक पटक भगवानपुर प्रहरीले बरामद गरेको थियो ।
त्यस्तै खजुराको सैनिक र राधापुर सिमा नाकाबाट समेत नेपालगन्जमा रहेको राम कुमार राठौरको मेघाश्री डिलरबाट समेत मेघाश्री तस्करी गराउदै आएको पाइएको छ। यतिमात्रै नभई कोरोना महामारी लकडाउनमा राठौरले १२ हजार ५ सय रुपैयाँ पर्ने मेघाश्री बोरालाई कालोबजारी गर्दै १८ देखि २४ हजार रुपैयाँमा बिक्री गरेको समेत पाइएको छ । राठौरले सुरक्षा निकायका घुमुवाहरुलाई मासिक रुपमा २० देखि ३० हजार रुपैयाँसम्म बुझाउने गरेको निकट स्रोतले बतायो।
बाँकेमा रहेका केहि सिमा नाकाका सुरक्षा निकायका प्रमुखहरुसंग तस्करी अभियानमा लागेका नाइकेहरुको गुपचुप सेटिङका कारण जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलाई समेत यो कुराको अत्तोपत्तो नहुँदा मेघाश्री र खुकुरी चुरोट जस्ता सुर्तीजन्य पदार्थको तस्करी हुँदै आएको स्थानियहरु बताउँछन् । उक्त विषयमा बाँके प्रहरीका एसपी तथा डिएसपीलाई सम्पर्क गर्दा फोन उठेन । आखिर त्यस्ता ब्यापारीले कहिलेसम्म प्रशासनको आँखा छल्ने हुन स्थानियहरुले प्रश्न गरेका छन् ।