पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्का हिरापुर बस्ने ७१ वर्षीया वृद्धा खण्टी भुलको आईतवार हत्या भएको छ । घरमा एक्लै बस्दै आएकी वृद्धाको हत्या भएको अवस्थामा आइतबार दिउँसो १ बजे तिर घरभित्रै शव फेला परेको प्रहरीले जनाएको छ ।
वृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए । घटनाको प्रहरी उपरिक्षक मुकुन्द मराशैनीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिरहेको प्रहरीले जनाएको छ ।
मृतक खण्टी भुलका भाइ हिरे भुलका अनुसार, खण्टी भुलले सधैंजसो नाक, कान र घाँटीमा तीन तोला जतिका सुनका गरगहना लगाइराख्ने गरेको र सोही गहना लुट्न हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।
मृतकको नाकमा सानो बुलाकी बाहेक अन्यत्र कुनै पनि गरगहना नभेटिएको प्रहरीले जनाएको छ । हत्या जस्तो जघन्य आपराधिक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको स्थानीयले माग गरेका छन् । मृतक वृद्धाका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको र बुहारी तथा नातिनी कैलालीको धनगढीमा बस्ने गरेको बताइएको छ ।