कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत निवासी ८२ वर्षीया महिलाको आइतबार कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
ज्वरोको समस्या र सास फेर्न कठिनाइ भएर यही पुस १० गते प्रदेश अस्पतालको आकस्मिककक्षमा भर्ना गरिएका उनलाई सोही दिन प्रदेश अस्पताल प्रयोगशालामा जिन एक्सपर्ट पिसिआर विधिबाट संक्रमण पुष्टि भई आइसियुमा राखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिए ।
प्रोटोकलअनुसार उपचार गरिए पनि मृतकमा क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज, एक्युट एक्जासरबेसन, हाइपरटेन्शन र न्युमोनियका कारण स्वास्थ्यमा सुधार नभई आइतबार मृत्यु भएको शाखाप्रमुख कँडेलले बताए ।
उनका अनुसार मृतक महिलासहित कर्णालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २६ पुगेको छ । हाल जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय र नेपाली सेनाको सहयोगमा मृतकको शव व्यवस्थापन भइरहेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखा कर्णाली प्रदेशले जनाएको छ ।