arrow

संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

विप्लव समूहबाट आक्रमण भएपछि जवाफी फायरिङ खोल्यौं : प्रहरी

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
goli-news.JPG

काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र प्रहरी बीच संखुवासभामा दाहोरो गोली हानाहान भएको छ ।

संखुवासभा सदरमुकाम खाँदबारीबाट करिब ५० किलोमीटरको दूरीमा रहेको चैनपुर क्षेत्रमा विप्लव समूहका नेता कार्यकर्ता र प्रहरी बीच दोहोरो गोली हानाहान भएको हो ।

संखुवासभाका डिएसपी नवराज मल्लले विप्लव समूहका कार्यकर्ताबाट फायरिङ खुलेपछि प्रहरीतर्फबाट जवाफि फायरिङ खोलेको बताए । 

उताबाट फायरिङ भयो, त्यसपछि हामीले पनि जवाफि फायरिङ खोल्यौं, अहिले उनीहरु केही सामान छाडेर भागेको खबर आएको छ, सदरमुकामबाट टाढा भएकाले विस्तृत विवरण आउन बाँकी छ,’ संखुवासभाका डीएसपी मल्लले हाम्राकुरासँग भने ।

प्रहरीका अनुसार घटना चैनपुर-४ मैदाने भन्ने स्थानमा भएको हो । प्रहरीतर्फबाट त्यहाँ करिब २० राउण्ड गोली चलेको छ भने विप्लव समूहले ५ राउण्ड फायर गरेको छ ।

विप्लव समूहका जिल्ला इन्चार्ज उत्तमकुमार भनिने युवराज राई सहितका नेता कार्यकर्ता सो क्षेत्रको एक घरमा रहेको विशेष सुचना पाएपछि प्रहरी त्यसतर्फ गएको थियो भने प्रहरी देख्ने बित्तिकै विप्लव समूहबाट आक्रमण भएको थियो ।

प्रहरीले गोली चलाउन सुरु गरेपछि भने विप्लव समूहका तीन जना नेता जंगलतर्फ भागेका थिए । प्रहरीले घटनास्थलबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेलसहित महत्वपूणर् दस्तावेजहरु र मोबाइल फोन बरामद गरेको छ भने प्रहरीले थप जनशक्ति लगेर भाग्ने विप्लव समूहका नेताकार्यकर्ताको खोजी समेत गरिरहेको छ ।

गत १ मंसिरमा पनि चैनपुरस्थित मैदानेमा नै विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए ।यसअघी गत वर्षको १६ असारमा समेत संखुवासभामा विप्लव समूहबाट प्रहरीमाथी फायरिङ भएको थियो । त्यसबखत सिलिङचोङ गाउँपालिका-१ मा प्रहरीको गस्ती टोलीलाई लक्षित गरेर आक्रमण प्रयास भएको थियो ।



लोकप्रिय समाचार
नयाँ