arrow

यचौंले ल्याएको चिनियाँ सुपरग्लूले जोडिएला नेकपा ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १२ आइतबार
china-Guo-Yezhou.jpg

काठमाडौं । एकिकरणको तीन वर्ष नपुग्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि छिमेकी राष्ट्र चीनले उच्चस्तरको चासो देखाएको छ । चिनीयाँ कम्युनिष्ट पार्टीको उच्च प्रतिनीधिहरु काठमाडौं आएरै नेकपाको विभाजनप्रति चासो मात्रै राखेका छैनन नेकपा शीर्ष नेताहरुलाई पालैपालो भेटघाट गरेर चिनीयाँ सुपर ग्लु लगाउने प्रयास गर्न थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछिको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्न चिनियाँ विशेष प्रतिनिधिका रूपमा चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका नेता कुअ यचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार मध्यान्ह काठमाडौं आइपुगेपछि साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर एक घण्टा लामो कुराकानी गरेका थिए । उनीहरुले भेटमा के के कुराकानी गरे भन्ने बारेमा केही बाहिर आउन सकेको छैन । उनीहरुले राष्ट्रपति बाहेक आइतबार कसैलाई पनि भेटघाट गरेको बाहिर आएको छैन । यद्यपि नेकपा केही नेताहरुसँग उनीहरुले कुराकानी गरेका छन् । सोमबार उनीहरुले प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नेछन् । ओलीसँगको भेटघाटको समय मिलाउन उनीहरुलाई निकै कठिन भएको थियो । ‘वालुवाटारले निकै लामो समय लिएर चिनियाँ टोलीलाई भेटघाट गर्ने मनिस्थिति बनाएको हो भोलिको समय पनि विहानै फिक्स गर्नेछ’, वालुवाटार निकट स्रोतले भन्यो । 

आइतबार दिउसो चिनियाँ टोली काठमाडौ आएपछि एयरपोर्टबाटै सुरक्षा गार्ड विना राजदूतावास पुगेको थियो। काठमाडौ रहँदासम्म दूतावासको मात्रै सुरक्षाकर्मीलाई लिएर बाहिर निस्कने सो टोलीलाई नेपाली सुरक्षाकर्मीहरुले सुरक्षा दिनु नपर्ने भएको छ। यद्यपि उनीहरुको अनुगमन भने हुने भएको छ । उनीहरुले सकेसम्म भेटघाटको स्थल राजदूतावासलाई बनाउने र बाहिर निस्कनुपरे निकै सावधानी अपनाउने भएका छन्। विमानस्थलमा पीपीइ लगाएर ओर्लेको चिनियाँ अन्तराष्ट्रिय विभागका उपमन्त्री यचौको टोलीले चार दिने नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, केही यूवा नेताहरुलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।

नेकपा विभाजन भैसकेको र कानुनी लडाइमा प्रवेश गरेको बेला चिनियाँहरुले पार्टी एकता कायम राख्न हरदम प्रयास गर्ने भएका छन् । चिनियाँ टोली नेपाल आउनु र नवनियुक्त उर्जामन्त्री टोपबहादुर रायमाझीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना नेपालमा ल्याउनु पर्ने धारणा सार्वजनिक गर्नु एक प्रकारको संयोग मात्र नभएको रुपमा अर्थ्याउन थालिएको छ । यद्यपि चिनियाँहरुले यो विषयमा कस्तो धारणा बनाएका छन् भन्ने बारेमा कुनै विषयहरु बाहिर आएका छैनन । 

चिनियाँ अन्तराष्ट्रिय विभागका उपमन्त्री यचौको टोली तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकताका लागि ७ फागुन २०७४ मा सात बुँदे समझदारी हुने बित्तिकै नेपाल आएको थियो । अहिले पनि सोही टोली नेपालमा आउनुलाई एकताको सुत्र बन्न सक्ने अनुमान गरिएपनि ओली प्रचण्ड र नेपालबीचको तिक्तता निकै अघि बढेकाले अब केही समय त्यो संभव नहुने नेकपाका नेताहरुले बताउन थालेका छन् । उनले त्यसबेला तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेतालाई भेटेको सार्वजनिक भएको थियो । उनले यी दुई कम्युनिष्ट पार्टीको एकीकरणका लागि सूत्रधारका रुपमा काम गरेका चर्चा चलेको थियो । अहिले पनि उनी गुप्तचरी शैलीमा नेपाल भ्रमणमा रहनुलाई फेरी पनि एकता गराउन सक्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ । यचौ नेपाल मामिलामा जानकार चिनियाँ नेता मानिन्छन ।

३० भदौ–३ असोज २०७५ मा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमण गर्दा क्वाङ्चौमा यचौले दाहाललाई स्वागत गरेका थिए । अहिले पनि यचौले दाहाल पक्षीय नेताहरुसँगको भेटलाई प्राथमिकता दिएको बताइएको छ । चिनियाँ पक्ष ओली र दाहाललाई जसरी पनि मिलाउने पक्षमा रहेको छ । तर अहिले नै त्यो कोर्स निकै अघि बढेकाले कति संभव हुन्छ भनेर अहिले नै आँकलन गर्न नसकिने नेकपाका नेताहरुले बताएका छन् ।



लोकप्रिय समाचार
नयाँ