काठमाडौं। नेकपाको फुटसँगै गम्भिर चिन्ता गर्दै चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका नेता कुअ यचौ नेतृत्वको ४ सदस्यीय टोली नेपाल भ्रमणमा रहेकै बेला चिनियाँ दूतावास अगाडी बिरोध प्रदर्शन भएको छ। नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप भएकोमा बिरोध प्रदर्शन गरेको उनीहरुले बताएका छन्।
राष्ट्रिय एकता अभियानले दूतावास नजिक भाटभटेनीमा गरेको प्रदर्शनबाट प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको अभियानका सदस्य संजय कार्कीले बताए । प्रहरीले अभियानका संयोजक विनय यादवसहित करीव दुई दर्जन सहभागीहरुलाई पक्राउ गरिएको कार्कीले बताए।
अभियानका संयोजक यादवले चीनले नेपाली राजनैतिक दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने गरेको, नेपाली भूमी मिचेको र सगरमाथामाथि गिद्धेदृष्टि लगाएकोले आफुहरू प्रदर्शनमा उत्रिन बाध्य भएको बताए।
प्रदर्शनको क्रममा 'चिनियाँ हस्तक्षेप बन्द गर', 'नेपाली राजनैतिक दललाई स्वतन्त्रता देउ' 'मिचेको भूमी फिर्ता गर' र सगरमाथामाथी गिद्धेदृष्टि नलगाउलगायत नाराहरू लगाइएको थियो।
अभियानले यसअघि पनि चिनियाँ हस्तक्षेप विरुद्ध प्रदर्शन गर्दै आएको बताएको छ।